कोरोनाको उच्च बिन्दु पार भएपछि कतारमा दोस्रो चरणको ‘लुजडाउन’


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

कतारमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु खुकुला बनाइएका छन् । कोरोना संक्रमणको उच्चतम बिन्दु पार भएको जनाउँदै लकडाउनको दोस्रो चरणको लुजडाउन अन्तर्गत रेस्टुरेन्ट, मस्जिद, सामुद्रिक तट र पार्कहरु आंशिक खुला गरिएका छन् ।

कतारको उच्चस्तरीय कोरोना संकट व्यवस्थापन समितिले बुधबार जारी गरेको विज्ञप्तिमा म्युजियम र लाइब्रेरीहरुलाई पनि निश्‍चित क्षमतामा केही घण्टा खुला गरिने उल्लेख छ ।
कोरोना संक्रमणको उच्च बिन्दु पार भएसँगै कतारमा जारी गरिएका प्रतिबन्दहरु खुकुलो पार्ने दोस्रो चरणअन्तर्गत यस्तो निर्णय लिइएको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ निर्देशिका अनुसार निजी तथा सार्वजनिक क्षेत्रमा ५० प्रतिशत कामदारहरु काममा फर्किन पाउने भएका छन् । तर, सुरक्षाका उपायहरु अनिवार्य अवलम्बन गर्नुपर्ने र पाँच जनाभन्दा बढी मानिसहरु भेला हुन नपाइने जनाइएको छ ।

त्यसैगरी एथ्लेटिक्स प्रशिक्षणका लागिसमेत खुला गरिएको छ । तर, एकपटकमा १० जनाभन्दा बढी जम्मा हुन नपाउने प्रावधान राखिएको छ ।

खाडी मुलुकहरुमध्ये साउदी अरबपछि कतारमा दोस्रो बढी कोरोना संक्रमित रहेको जनाइएको छ । कतारमा मंगलबारसम्म ९६ हजार ८८ कोरोना संक्रमित छन् भने ११३ जनाको मृत्यु भएको  छ।

कतारमा चार चरणमा लकडाउन खुकुलो पारिने जनाइएको थियो । –अलजजिरा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com