पेचेक प्रोटेक्सन ऋण अगस्त ८ सम्मै स्वीकृत गर्ने बिल दुबै सदनबाट पारित
प्रकाशित मिति : असार १७, २०७७ बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/01/180122125025-04-us-capitol-government-shutdown-0122-large-tease.jpg?fit=800%2C450&ssl=1)
अमेरिकामा कामदारको तलबका लागि विजनेशहरुलाई प्रदान गरिने मिनाहा हुने ‘पेचेक प्रोटेक्सन ऋण’ अगस्त ८ सम्म स्वीकृत गर्न एसबीएलाई अनुमति दिने बिल आज अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट पनि एकमतले पारित भएको छ । पेचेक प्रोटेक्सन ऋणको डेडलाइन जुन ३० तोकिएपनि मंगलबार बेलुका सिनेटले आश्चर्यजनक रुपमा ऋणका आवेदन स्वीकृत गर्न नरोक्ने बिल एकमतले पारित गरेको थियो ।
पीपीपीका लागि छुट्याएको झण्डै १३० बिलियन डलर बाँकी रहेकै अवस्थामा आगामी दिनमा पनि ऋण स्वीकृत गर्नेगरी दुबै सदनबाट बिल पारित गरिएको हो ।
यो बिलले एसबीएलाई पेचेक प्रोटेक्स ऋण निरन्तररुपमा अगस्त ८ सम्म नै स्वीकृत गर्नका लागि अधिकार प्रदान गर्दछ । अहिलेसम्म एसबीएले ४८ लाख विजनेशलाई झण्डै ५१९ बिलियन डलर ऋण स्वीकृत गरिसकेको छ । न्युयोर्कमामात्र ३ लाख १६ हजार ८ सय १४ विजनेशले ३८ बिलियन डलर पीपीपी ऋण लिएका छन् ।
यसैबीच अमेरिकी सरकारले कोरोनाको महामारीमा पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने जनाएको छ । साना ब्यापार प्रशासन एसबीए र ट्रेजरी डिपार्टमेन्टले पीपीपी ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।
तर एकलाख ५० हजार डलरभन्दा बढी ऋण लिने विजनेशहरुको नाम र विवरणमात्र सार्वजनिक गरिने भएको छ । डेढलाख डलरभन्दा कम ऋण लिने विजनेशको नाम भने सार्वजनिक नगरिने तर कस्ता प्रकारका विजनेशहरुले कुल कति ऋण लिए भन्ने तथ्यांक भने सार्वजनिक गरिनेछ ।
यसअगाडि पीपीपी अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक नगरिने बताइएको थियो । सिनेटको सुनुवाईमा ट्रेजरी सेक्रेटरीले विजनेशहरुको स्वामित्वका रुपमा उनीहरुले लिएको पीपीपी ऋण सार्वजनिक नगरिने बताएका थिए ।
पीपीपी ऋण ६० प्रतिशतभन्दा बढी पेचेकमा प्रयोग गरेमा मिनाहा गर्ने प्रावधान सरकारले ल्याएको छ । विगतको तुलनामा खर्च प्रावधानमा लचकता अपनाइएको हो । विगतमा ८ हप्ताभित्र खर्च गर्नुपर्ने प्रावधानलाई बढाएर २४ हप्ता बनाइएको छ ।