दोश्रो राहत प्याकेजमा डेमोक्र्याट्सको प्रस्तावभन्दा पनि बढी रकम दिने पक्षमा ट्रम्प


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकनहरुका बैंक खातामा अर्को चरणमा राहत रकम पठाउने कुराको समर्थन गर्ने बताएका छन् । बुधबार ट्रम्पले डेमोक्र्याट्सहरुबाट प्रस्तावित भन्दा धेरै रकम आफूले दिन चाहेको बताएका छन् ।

अर्को चरणमा राहत दिने कुरालाई आफूले समर्थन गर्ने तर यो उचित तरिकाले दिनुपर्ने ट्रम्पले बताएका छन् । ट्रम्पले भनेका छन् – ‘वास्तवमा म डेमोक्र्याट्सहरुले प्रस्ताव गरेभन्दा पनि धेरै राहत रकम दिने पक्षमा रहेको छु ।’

यस अगाडि पनि ट्रम्पले अत्यन्तै उदार खालको राहत प्याकेज ल्याउनुपर्ने बताएका थिए । तर अर्को प्याकेजको स्वरुप कस्तो हुने भन्नेबारे अहिलेसम्म केही स्पष्ट भने छैन ।

डेमोक्र्याट्सहरुले गत मे महिनामा नै हाउसबाट प्रतिव्यक्ति १२ सय डलर दिने, परिवारलाई ६ हजारसम्म दिने र बेराजगारी विमाको साप्ताहिक ६ सय जनवरीसम्म बढाउने प्रस्तावसहित बिल पारित गरेका थिए ।

ट्रम्पले भनेका छन् – ‘म मान्छेहरुले धेरै रकम प्राप्त गरेको चाहन्छु, ता कि उनीहरुले खर्च गर्न सकुन् । उनीहरुले छिटो र सरल तरिकाले रकम प्राप्त गरेको म चाहन्छु ।’

तर ट्रम्पले आफू ठूलो रकम राहतका रुपमा पठाउने वा ठूलो बेरोजगारी विमा रकम दिने मध्ये कुन पक्षमा रहेको भन्नेबारे केही स्पष्ट पारेनन् ।

डेमोक्र्याट्सहरुले असाध्यै जटिल बनाउन चाहेको तर आफूले सरल चाहेको ट्रम्पको भनाई छ । काममा फर्कनेहरुका लागि उपयुक्त सुविधाका पक्षमा आफू रहेको ट्रम्पले बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com