चीनमा देखिएको नयाँ भाइरसको लक्षण ५ करोडको ज्यान लिएको स्पानिस फ्लुसँग मिल्दोजुल्दो


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

ह्वाइटहाउसमा कोरोना भाइरसका सल्लाहकार डाक्टर एन्थोनी फाउचीले चीनमा देखिएको नयाँ भाइरसको लक्षण सन् २००९ को स्वाइन फ्लु र सन् १९१८ को महामारीसँग मिल्दोजुल्दो भएको बताएका छन् । सन् २००९ को स्वाइन फ्लुबाट ५ लाख बढीको र सन् १९१८ को महामारीबाट ५ करोड बढीको ज्यान गएको बताइन्छ ।

चीनमा सुँगुरमा देखिएको नयाँ भाइरसबारे अमेरिकाका स्वास्थ्य अधिकारीहरुले नजर राखिरहेको फाउचीले बताएका छन् । यो भाइरसलाई बैज्ञानिकहरुले जीफोर ईए एचवान एनवान नाम दिएका छन् । यो अहिलेसम्म मान्छेमा संक्रमण भएको भने पुष्टी भएको छैन ।

नयाँ भाइरस महामारीमा बदलिनु यसमा आएको उत्परिवर्तन वा जीनमा आएको आदानप्रदानका कारण हुने फाउचीले बताएका छन् । यो भाइरस सन् २००९ को स्वाइन फ्लु र सन् १९१८ को महामारीसँग मिल्दोजुल्दो भएकाले विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।

सन् २००९ को अप्रिलमा मेक्सिकोबाट स्वाइनफ्लुको उत्पत्ति भएको थियो । अमेरिकामामात्र स्वाइन फ्लुबाट ६ करोड भन्दा बढी संक्रमित भएका थिए भने विश्वभर ७ सय मिलियन संक्रमित भएका थिए ।

सन् १९१८ को महामारीबाट पहिलो विश्व युद्धको तुलनामा २ करोड बढीको ज्यान गएको थियो । चीनमा देखिएको नयाँ भाइरसबाट सन् २००९ को जस्तो स्वाइन फ्लु प्रकारको महामारी फैलिन सक्ने फाउचीले चेतावनी दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com