यी १६ राज्यबाट न्युयोर्क आउनेहरु अनिवार्य १४ दिन क्वारेन्टीनमा, थपियो ८ राज्य


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

न्युयोर्कका गर्भनर एन्ड्रयु कुमोको क्वारेन्टीन ओदशमा अमेरिकाका ८ वटा राज्यहरु थप गरिएको छ । जुन २४ मा जारी गरिएको आदेशमा ८ वटा राज्यबाट न्युयोर्क आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएकोमा आज अरु ८ राज्य थपिएको हो ।

आज थपिएका ८ राज्यमा क्यालिफोर्निया, जर्जिया, आयोवा, आइदाओ, लुजियाना, मिसिसिपी, नेभाडा र टेनिसी रहेका छन् । यो आदेश यी राज्यहरुबाट न्युयोर्क घुम्न आउनेहरुलाईमात्र नभएर घर फर्कने न्युयोर्कका बासिन्दाहरुलाई समेत लागु हुनेछ । क्वारेन्टीन आदेशको उल्लंघन गर्नेलाई जरिवाना र अन्य सजाय हुने कुमोले स्पष्ट पारेका छन् ।

यस अगाडि जुन २४ मा अलाबामा, अर्कान्सास, एरिजोना, फ्लोरिडा, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, युटाह र टेक्सासबाट न्युयोर्क आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टीनमा बस्ने आदेश जारी गरिएको थियो । यी सबै राज्यहरुमा कोरोनाको संक्रमण तीब्र बन्दै गएको देखिएको छ ।

अमेरिकामा कोरोना संक्रमित हुनेहरुको संख्या २७ लाख नाघिसकेको छ भने मृतकको संख्या १ लाख ३० हजार नाघिसकेको छ । एरिजोना, फ्लोरिडा र टेक्सास कोरोना भाइरसका नयाँ इपीसेन्टरहरु बनेका छन् । न्युयोर्कमा भने कोरोना संक्रमणमा निकै कमी देखिएको छ ।

सोमबार न्युयोर्क राज्यमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ५२४ मात्र रहेको थियो । न्युयोर्क सिटीको क्वीन्समा सोमबार जम्मा ६६ जना नयाँ संक्रमित भेटिएका थिए भने म्यानहटनमा ४६ जना नयाँ संक्रमित पुष्टी भएका थिए । त्यस्तै बु्रकलिनमा ७४ जना र ब्रोंक्समा ४३ जना नयाँ संक्रमित भेटिएका थिए । जबकी क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा विगत २४ घण्टामा संक्रमण पुष्टी हुनेहरुको संख्या हरेक राज्यमा ६ हजारभन्दा धेरै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com