कोरोना महामारीको खराब अवस्था आउनै बाँकी रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५ लाख नाघेलगत्तै विश्व स्वास्थ्य संगठनले खराब अवस्था आउन बाँकी नै रहेको चेतावनी दिएको छ । सोमबार विश्व स्वास्थ्य संगठनले कोरोना महामारी सुरु भएको ६ महिना पुग्दै गर्दा यस्तो चेतावनी दिएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले सबैले कोरोनाको महामारीको अन्त्य चाहेको भएतापनि यो अन्त्यको नजिक समेत नरहेको बताएका छन् । कतिपयदेशमा केही प्रगति देखिएपनि विश्वब्यापी रुपमा महामारी तीब्र बनेको उनको भनाई छ ।

उनले भनेका छन् – ‘मलाई यो भन्दा अत्यन्तै दुख लागेको छ । तर खराब अवस्था अझै आउन नै बाँकी रहेको छ ।’

विश्व स्वास्थ्य संगठनले आगामी साता चीनमा एउटा टोली पठाउने भएको छ । उक्त टोली भाइरसको उत्पत्तिबारे खोजी सम्बन्धित रहेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले चीनलाई आफ्ना विज्ञहरुलाई भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न दिनका लागि दवाव दिदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले भाइरसबारे कसरी उत्पत्ति भयो लगायतका सबैचीज थाहा पाएपछिमात्र यसबिरुद्ध लड्न सकिने बताएका छन् । आगामी साता चीन जाने टिमले भाइरसको उत्पत्तिबारे थप जानकारीहरु हासिल गर्नसक्ने उनले बताएका छन् ।

कतिपय वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मान्छेमा सरेको विश्वास गर्छन् । तर यसबारे विभिन्न तर्कहरु समेत भइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com