विवाहपछि मोडिएको जीवनयात्रा: अमेरिकामा सफल महिला व्यवसायीका रुपमा चम्किदै सूर्य


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

(हामीले मार्च महिनालाई शशक्तिकरण महिनाको रुपमा मनाइरहेका छौं । र तपाईहरुलाई मार्च महिनाभर शक्तिकरणका कथाहरु सुनाउदै जानेछौं । यो सामाग्री अन्तिमपटक मार्च १, २०२१ मा अपडेट गरिएको छ । – सम्पादक)

विवाह भइसकेपछि गृहिणीमात्रै बन्छु जस्तो लागेको थियो सूर्य महर्जनलाई । तर श्रीमान र विवाहपछि परिवारका सदस्यहरुको प्रेरणा र सहयोगबाट उनी सफल महिला व्यवसायीमा दरिन पुगिन् । हिरा र सुनको व्यवसायमा चम्किदै गरेकी सूर्यलाई विवाहपछि परिवारका महिला सदस्यहरुको पनि उत्तिकै सहयोग रह्यो । त्यसैले अहिले उनी अमेरिकामा सफल महिला व्यवसायीका रुपमा अगाडि बढिरहेकी छिन् ।

उनका श्रीमान समिर महर्जन पनि अमेरिकामा हिरा र सुनका गहनाका सफल व्यवसायी हुन् । तर अहिले न्युयोर्कको ज्याक्सनहाइटमा रहेको क्वीन्स डायमण्ड सूर्यले ह्याण्डल गर्दै आएकी छिन्, समिर क्यालिफोर्निया लगायतका स्थानमा ब्राण्डेड र नयाँ स्टोरहरुलाई स्थापित गराउनमा व्यस्त छन् ।

सूर्य भन्छिन् -‘हामी हरेक कुरामा सरसल्लाह गरेर अगाडि बढ्छौं । श्रीमानको साथ र सहयोग पाउनेमा म निकै भाग्यमानी ठान्छु आफूलाई ।’

विवाहपछि मोडिएको यात्रा

बिजनेसमा महिला अगाडि आउन क्षमता भएरमात्र हुँदैन, श्रीमानको धेरै ठूलो साथ सहयोग चाहिन्छ भन्ने उदाहरण हुन् सूर्य । किनभने विवाहपछि उनलाई कहिले पनि घरको काममा अल्झेर बस्नु परेन ।

ललितपुरमा जन्मे हुर्केकी सूर्यलाई त्यतीबेला पनि बुबाआमाबाट छोरीहरु आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दै अध्ययनको लागि सधै हौसला प्राप्त भयो । यद्यपी त्योबेला अहिले जस्तो छोरीहरुले पढ्न सहज पनि थिएन । सूर्यको जग बलियो बनाउन आमा बुबाको जति भूमिका रह्यो, अहिले व्यवसायिक सफलताका लागि श्रीमान समिरको भूमिका रह्यो ।

सूर्य भन्छिन् -‘हाम्रो माइतीको पृष्ठभूमि पनि खास व्यवसायिक होइन । तर विहेपछि घरपरिवार र श्रीमानको साथले म व्यवसायी बन्न पुगें । समाजमा अहिले पनि कैयौँ पुरुष व्यावसायी छन् तर श्रीमतीलाई अगाडि बढाउन चाहँदैनन्, यसरी हेर्दा म निकै भाग्यमानी रहेछु ।’

विवाहपछि व्यावसायमा आउँछु भन्ने कल्पना समेत थिएन सूर्यलाई । उनले विहेपछि गृहिणी बन्ने कुरामा आफूलाई भित्रभित्रै कन्भिन्स गरिसकेकी थिइन् । तर बिहे अघि जे सोचेको सोंचेकी थिइन्, त्यसको विपरित पाइन् परिवार । विवाहपछि परिवारले सूर्यलाई घरको चौघेरामा सिमित राख्न चाहेन, व्यवसायिक यात्रामा अगाडि बढायो । विवाहपछिको परिवारकै कारण सूर्यले व्यावसायमा पहिलो पाइला टेकिन् । र, जीवनको यात्रा नै मोडियो ।

९ कक्षादेखि नै बसेको माया

सूर्यको विवाह पनि आफूले मन पराएको केटासँग भयो । समिर र सूर्य स्कुले साथी थिए । कक्षा ९ मा पढ्दा नै एकअर्कामा माया सबेको थियो । तर, यो कुरा घरपरिवारमा आमालाई मात्र थाहा थियो, अरुलाई भन्नु हिम्मत जुटेकै थिएन सूर्यलाई ।

एसएलसी पछि समिर र सूर्य केही समयको लागि छुट्नु पर्यो । समिर उच्च शिक्षा अध्ययनको लागि भारत तिर लागे पाइलट बन्ने सपना बोकेर । तर सूर्य भने नेपालमै थिइन् । भारतबाट फर्केपछि दुबैजनाको विवाहको निधो भयो ।

दुबैजनाको प्रेम भएपनि भागेर विवाह गरेनन्, परम्पागत रुपमै लगनगाठोँ कसियो । माइजुले सहज भूमिका खेलेका कारण विवाह सम्भव भएको बताउँछिन् सूर्य ।

मुम्बईमा हिरा गहनाबारे तालिम

समिरसँगको विवाह पछि परिवार बदलियो । नयाँ नाता थपिए । विवाह गरेर समिरको घर पुगेकी सूर्य सम्झिन्छिन् -‘घरपरिवार, जेठाजु र सासु आमाले नचाहनु भएको भए ,म अहिले घरको चारदिवारमा सिमित हुने थिए । गुमनाम महिलाहरुकै हुलमा हिँडिरहेको हुने थिए । म आफूलाई भाग्यमानी ठान्छु, जुन परिवारले मलाई हिराको अध्यायनकै लागि पाँचबर्ष भारतमा पठाउनुभयो ।’

परिवारकै सल्लाहमा सूर्य श्रीमानसँगै तालिमका लागि भारत गइन् । उहाँको विवाहपहिले नै घरमा हिराका गहनाको व्यवसाय थियो । त्यसको उत्पादन लगायतको काम मुम्बईमा हुन्थ्यो । त्यसैले उनी मुम्बई त्यहीँ ठाउँमा तालिम सुरु गरिन्, जहाँ कैयन भारतीयहरुले काम गर्थे ।

सूर्य सम्झिन्छन् -‘तीन चारसय जना काम गर्ने भारतीयहरुको बीचमा काम हेरेर सिक्नु पर्ने भयो । धेरै मानिसहरु मनलाई मन पराउँथे । मैले सोधेको कुरा राम्रोसँग बताई दिन्थे । तर कोही सिकाउन चाहदैनथे । तर पनि म उनीहरुसँग राम्रोसँग कुरा गरेर सिक्ने काम गरेँ । पुरै दुई वर्षसम्म त लुज डायमण्डका बारेमा मात्र सिकेँ । निकै दुःख गरेर सिकेको भएर होला यो व्यवसायी प्रति अझ दत्तचित्त भएर लाग्ने अठोट जागेर आयो ।’

मुम्बईको सिकेको प्रयोग काठमाडौंमा

निकै कठिनाका साथ भारतबाट तालिम सकेर नेपाल आएपछि तीनबर्ष आफ्नो सम्पूर्ण सिपलाई व्यावहारमा लगाइन् सूर्यले । त्यसपछि उनलाई जीवनमा पछि फर्केर हेर्नु परेको छैन ।

उनले नेपालमा धेरै काम गहना उत्पादनमै गरिन् । उत्पादनदेखि डिजाइनसम्म भारतमा सिकेकी सूर्यको कामलाई नेपाली ग्राहकले पनि निकै रुचाए । उनी नेपालमै हिराको पारिवारिक पसलमा व्यस्त रहिन् ।

यात्रा अमेरिकातिरको

यत्तिकैमा आफ्नो सिप र व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले श्रीमान समिरले सन् २००५ मा अमेरिका आउने चाँजोपाँजो मिलाए । समिर अमेरिका आएको केहीसमयपछि सूर्यपनि काखका दुई छोरी बोकेर आइन् ।

नयाँ ठाउँ, नयाँ भाषा, नयाँ परिवेशका कारण चुनौती त थियो । तर पनि श्रीमान श्रीमती मिलेर चुनौतीको सामना गरे । र, न्युयोर्कमा हिराको होलसेलरको रुपमा आफूलाई स्थापित गरे ।

अमेरिकामा विजनेश स्थापितका गर्दा दिन सम्झदै सूर्य भन्छिन् – ‘अमेरिकामा विजनेस गर्नको लागि दिपक श्रेष्ठदाईले धेरै नै सहयोग गर्नुभयो । हाम्रो लागि लक्की चार्म हो उहाँ । होलसेलको साथै म्यानहटन र अलास्कामा विजनेस सुरु गर्यौँ । आइतबार र शनिबार कामबाट छुट्टी हुनेहुँदा नेपाली दिदी बहिनीको अनुरोधमा हामीले हप्ताको सातैदिन पसल खोल्न थाल्यौँ ।’

न्युयार्कको म्यानहटनमा एकातिर यहुदी र अर्कातर्फ भारतीयको स्टोरका बीचमा उनीहरुले स्टोर खोलेका थिए । त्यसैले व्यवसाय निकै चुनौतीपूर्ण थियो । तर पनि श्रीमान श्रीमति मिलेर परिवारको सहयोगका यो चुनौतीको सामना गरे ।

म्यानहटनपछि १२ बर्ष अगाडि क्वीन्सको ज्याक्सनहाइटमा क्वीन्स डायमण्डको स्थापना गरेपछि हिरा र सुनका गहनाको यो व्यवसाय नेपाली समुदायमाझ अझ लोकप्रिय भयो । नेपाली समुदायका अलावा दक्षिण एसियाली समुदायमाझ समेत विश्वास कमाउँदै गयो । अहिले यो स्टोरको शाखा मेरिल्याण्ड र क्यालिफोर्नियामा पनि संचालित छ ।

अमेरिकामा व्यवसायिक सफलतामात्र होइन, नेपालीहरुलाई रोजगार समेत प्रदान गरिएको छ यो व्यवसायमार्फत । काम गर्ने प्राय सबै कामदारहरु नेपाली नै छन् ।

आफ्नो सफलताको पछाडि श्रीमान सतिसाल बनेर उभिदिएकाले छोराछोरी र व्यावसायलाई एकैसाथ लैजान सकेका सूर्यको अनुभव छ -‘बिजनेसमा श्रीमानको धेरै आइडिया छ , त्यसैले जे काम गर्दा पनि म श्रीमानसँग सल्लाह गर्दछु । उहाँकै आईडियामा हामीले काम गर्ने हो ।’

अमेरिकाका पसलमा रहेका अधिकांश गहनाहरु नेपालमा रहेको आफ्नै फ्याक्ट्रीमा उत्पादन हुने गरेको बताउँछिन् सूर्य । सूर्य भन्छिन् -‘अधिकांश उत्पादन नेपालमा रहेको कम्पनीमा हुन्छ । तर सुन नेपालमा महंगो भएकाले त्यसको उत्पादन सिंगारपुरमा गर्ने गरेका छौँ । हिराको केही प्रतिशत इटालियन डिजाइन आउँछ ।’

अमेरिकी म्यागाजिनले फिचर गरेको श्रीमान समिरको स्टोरी पढ्दै सूर्य

बच्चा हुर्काउँदै व्यवसायमा

सूर्यको अमेरिकामा रहेको परिवारमा श्रीमान दुई छोरी र एक छोरा छन् । उनले बिजनेसको साथै परिवारलाई पनि उत्तिकै समय दिइरहेकी छिन् ।

‘बच्चा हुर्काउँदै व्यावसाय गर्नु अमेरिका जस्तो देशमा निकै गाह्रो छ । नेपालमा जस्तो सजिलो छैन । बच्चाहरुलाई आफ्नो देशको संस्कार र संकृति पनि सिकाउनु पर्ने हुन्छ । तर, पटक पटक भन्छु, म निकै भाग्यमानी नै हो । यतिधेरै सहयोगी श्रीमान पाएको छु । आमाले निभाउनु पर्ने भूमिका बाहेक छोराछोरीको सबै काम श्रीमानले नै गर्नुहुन्छ ।’-  सूर्य भन्छिन् ।

आफ्नो बच्चालाई राम्रो संस्कार दिने हो भने सबैले बच्चालाई समय दिनुपर्ने सूर्यको भनाई छ । उनी भन्छिन् -‘मेरो श्रीमान जस्तो बच्चालाई समय दिने मानिस निकै कम होलान् । श्रीमानले समय मिल्यो कि घर सफा गर्नेदेखि सबैमा सघाउनुहुन्छ ।’

सूर्यले हाँस्दै रहस्य खोलिन् -‘तर, खाना बनाउन भने उहाँलाई पटकै आउँदैन ।’

पसलमा काम गर्ने स्टाफलाई विश्वास गर्ने वातावरण समेत आफूहरुले बनाएको सूर्यको भनाई छ । बिजनेसमा सबैकुरा सिष्टममा भयो भने हरेक कुरा सहज हुने उनको अनुभव छ ।

विजनेशमा व्यस्त रहेपनि परवारका लागि प्रयाप्त समय छुट्याउने गरेको बताउँछिन् सूर्य । हप्ताको दुई दिन पुरै समय बच्चाहरुसँग बिताउने गर्छिन् उनी । उनी भन्छिन् -‘हामी बेलाबेलामा घुमफिर गरिहन्छौं । बिजनेसले घुम्नलाई रोकेको छैन । स्टाफको भरमा पसल चलेको छ । पसलमा भएका हरेक समान सिष्टमेटिक रुपमा राखिएको छ । पसल सातै दिन खुल्छ ।’

यतिमात्र होइन, प्राय समरमा अमेरिकाको सबैकाम छोडेर नेपालमा परिवारसँग बस्नकै लागि एक महिना छुट्याउने गर्छिन् उनी । सूर्य भन्छिन् -‘परिवारसँग समय बिताउनु निकै जरुरी हुन्छ । अझ हामी विदेशमा बस्नेहरुलाई त्यो झनै जरुरी छ ।’

जुन १८ मा परिवारका सदस्यहरुसँग जन्मदिन मनाउँदै सूर्य ।

महिला हिंशा कम गर्न आर्थिक सवलता

काम गर्नुको लागि महिला आफै पनि अगाडि आउनुपर्ने मान्यता छ सूर्यको । विजनेशमा आउन हिम्मत नगर्नेहरुलाई सूर्य भन्छिन् -‘घरको काम त विजनेशभन्दा अझ गाह्रो हुन्छ । अफिस भन्दा घरको काम दोब्बर हुन्छ । नदेखिनेमात्र हो । घरको व्यवस्थापन गर्ने महिलाले विजनेशको व्यवस्थापन सहजै गर्नसक्छन् । हिम्मत र मिहिनेतको खाँचो छ ।’

अधिकारमा बराबरीको लागि केही समय नेपाली महिलाले मेहनत गर्नुपर्ने तर आर्थिक रुपमा जति बलियो भयो, महिलामाथि हुने हिंसा आफै कम भएर जाने सूर्यको विश्वास छ । सामाजिक काममा समेत सकृय सूर्य भन्छिन् -‘महिलाबिरुद्ध हुने हिंशा कम गर्न एउटा महिलाले अर्को महिलालाई सहयोग गर्ने संस्कार बढाउनुपर्छ ।’

नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com