KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपालदेखि अमेरिकासम्म कानुन व्यवसायमा बन्दिता : श्रीमानको सपोर्टले स्वादिलो सफलता

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

– किशोर पन्थी

बाल्यकालमा नै अत्यन्तै तर्कशिल बन्दिता भविश्यमा वकिल बन्लिन् भनेर धेरैले अनुमान गरेका थिए । बाल्यकालमा बुबाआमाले पनि बन्दिता वकिल बन्ने अनुमान नै गरेपनि अमेरिकामा वकिल बन्लिन् भनेर कमैले अनुमान गरेका थिए । तर बन्दिता नेपालमामात्र वकिल बनिनन्, अमेरिकामा पनि वकिल बनिन् । नेपाल र अमेरिकाको लाइसेन्स प्राप्त गर्ने सम्भवत पहिलो नेपाली महिला वकिल हुन् – बन्दिता शर्मा दाहाल ।

काठमाडौंको बबरमहलमा जन्मेहुर्केकी बन्दिताले सुरुमा सेन्ट मेरिज स्कुलमा पढिन् । एसएलसी पनि जावलाखेलमा रहेको सेन्ट मेरिजबाटै गरिन् । त्यतीबेला उनीसँगै पढ्ने अधिकांशले साइन्स, कमर्स लगायतका विषयहरु रोजे । तर बन्दिताले भने कानुन विषय रोजिन्, जुन धेरैका लागि आश्चर्यजनक समेत थियो ।

सन् १९९५ मा एसएलसी उत्तिर्ण गर्दा उनी झण्डै १६ बर्षकी थिइन्, त्यतीबेला देखि नै उनमा कानुनका विषयमा खास चासो बढेको थियो । अहिलेकी न्यायाधिस सपना प्रधान मल्लको नाम त्यतीबेला पनि चर्चामा नै थियो । उनी त्यही टोलकी भएकाले पनि बन्दिताले सपनाको नाम खास सुनेकी थिइन् । त्यसैले उनी एसएलसीपछि कानुन पढ्ने विषयमा सल्लाह लिन सपनाकै कार्यालयमा गइन् ।

१६ बर्षकी बन्दितामा कानुनको क्षेत्रमा रहेको हुटहुटी शायद सपनाले पनि बुझिन् । त्यसपछि उनले बन्दितालाई एनजीओमा आवद्ध समेत गराइन् । त्यतीबेला सपनाले फोरम फर वुमन ल एण्ड डेभलपमेन्ट नामको संस्था खोल्दा बन्दिता त्यसको संस्थापक सदस्य भइन् । बन्दिता सम्झिन्छन् – ‘कति कुरा बुझेर त कति नबुझेर म त्यसक्षेत्रमा लागिसकेकी थिएँ । मैले त्यहाँ गएर स्वयम्सेवकका रुपमा काम गरें । कलेज ज्वाइन गर्नुभन्दा अगाडि नै कानुनसँग सम्बन्धित संस्थामा काम गर्ने मौका मिल्यो ।’

त्रिभुवन विश्वविद्यालय अन्तरगत ल क्याम्पसबाट बन्दिताले आईएल र बीएल गरिन् । आईएल उत्तिर्ण गरेदेखि नै अभिवक्ताको लाइसेन्स लिएर उनले जिल्ला अदालतमा गएर प्राक्टिस सुरु गरेकी थिइन् । त्यतीबेला अरुकै ल फर्ममा आवद्ध भएर उनले प्राक्सिट सुरु गरेकी थिइन् । पछि बीएल पनि उत्तिर्ण गरेपछि उनको प्राक्टिसको दायर अझ बढ्यो ।

बीएल अध्ययन गर्दा गर्दै उनको शीलकुमार दाहालसँग विवाह भयो । बन्दिता बस्थीन् बबरमहल, शील बस्थे ठमेल । दुबैको प्रेमविवाह भयो सन् २००० मा, जतिबेला उनी भर्खर २२ बर्षमा लागेकी थिइन् । त्यसपछि बन्दिताले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विषयमा मास्टर्स पढ्न सुरु गरिन् ।

यसरी सुरु भयो अमेरिका यात्रा

मास्टर्स दोश्रो बर्षको परीक्षा अगावै नै उनी विद्यार्थी भिसामा अमेरिका आइन् । त्यसैले उनले नेपालबाट मास्टर्स पूरा गर्न भने पाइनन् । सन् २००३ को अन्त्यतीर विद्यार्थी भिसामा उनी अमेरिका आउनु र उनका श्रीमान् शीलकुमार दाहाल मेडिकलमा रेसिडेन्सीको लागि अमेरिका आउनु लगभग एकैसाथ भयो ।

बन्दिताले न्युयोर्कको सन् २००४ मा लङ आइल्याण्डमा रहेको टुरो कलेजमा भर्ना पाइन्, शिवले ब्रोंक्समा रेसिडेन्सी पाए । दुबैजना न्युयोर्कमा नयाँ थिए । त्यसैले न्युयोर्कको बारेमा र अमेरिकन जीवनको बारेमा एकले अर्कोलाई सिकाउने कुरा केही थिएन । बन्दिता सम्झिन्छन् – ‘हामी सँगसँगै अमेरिका आएकाले एउटाले अर्कोलाई गाइड गर्ने कुरा भएन । न्युयोर्कमा ट्रेनमा चढ्दा कैयनपटक उल्टोतिर गयौं । सानोसानो कुराहरु सुरुबाटै सिक्नुपरेको थियो । हामी दुबैजनाले एकसाथ सिक्यौं ।’

टुरो कलेजमा बन्दिताले फेलोसिप पाएकाले खर्चको भार त्यतीधेरै भएन । तर श्रीमान् शीलको रेसिडेन्सी ब्रोंक्समा रहेकाले र रातीमा काम गर्नुपर्ने भएकाले ब्रोंक्समा नै बस्नुपर्ने भयो । ब्रोंक्सबाट कलेज पुग्न झण्डै साढे दुईघण्टा लाग्थ्यो । बन्दिता भन्छिन् – ‘म विहान ८ बजे नै गएर बेलुका आउथें । उहाँको रातीमा काम भएकाले भेटघाटपनि राम्रोसँग हुन पाउँदैनथ्यो ।’

न्युयोर्कमा झण्डै तीनबर्ष संघर्षपूर्ण नै रहे । त्यसपछि श्रीमान् शीललाई स्पोन्सर गर्ने कलेज पेन्सिलभेनियामा रहेकाले सन् २००७ मा उनीहरु पेन्सिलभेनिया बसाई सरे । त्यो अवधिमा बन्दिताले कानुन व्यवसायीका रुपमा काम गर्न आवश्यक पर्ने बारको परीक्षाका लागि तयारीको समय पनि पाइन् । बारको परीक्षा सन् २००८ को फरबरीमा थियो, त्यतीबेला उनका जेठा छोरा १३ महिनाका थिए ।

बन्दिताले छोरा हुर्काउँदै बार परीक्षाको तयारी गर्दै थिइन् । कहिले बच्चालाई बेबीसिटरकोमा छाडेर त्यो समयमा आफूले अध्ययन गर्थिन् त कहिले बच्चालाई आफैले हेर्दै । तर एकदिन परीक्षा हुनुभन्दा झण्डै एकमहिना अगाडि छोराको हात तातो चियाले पोल्यो । बच्चालाई बेबीसिटरकोमा छाड्ने स्थीति थिएन ।

‘म के गर्ने भनेर निकै अन्यौलमा थिएँ । बारको परीक्षा एकदम कडा हुनेभएकाले विना तयारी सम्भव थिएन । धन्न त्यतीबेला तुरुन्तै ममी आउन सम्भव भयो । ममी झण्डै २० दिन बस्नुभएकाले मैले बारको परीक्षाको तयारी गर्न पाएँ । र, उत्तिर्ण गर्न सकें । किनभने त्यो बेलामा नसके पछि झन् गाह्रो हुने थियो ।’ –  बन्दिता त्यतीबेलाको क्षण सम्झिन्छिन् ।

बच्चा सानै भएकाले बारको परीक्षा पछि पनि केही समय बन्दिताले बच्चा हुर्काउनमा नै खर्चिन् । त्यही बेलामा दोश्रो बच्चा पनि गर्भमा थियो । त्यसैले उनले तत्काले रजिस्ट्रेशन गरेर कानुनी अभ्यास थालिनन् । त्यसका लागि झण्डै डेढ बर्ष लाग्यो । अर्थात् सन् २००९ देखिमात्र उनले अमेरिकामा कानुन व्यवसायको यात्रा सुरु गरिन् ।

अमेरिकामा कानुन व्यवसायी

सुरुमा अरु कानुन व्यवसायीसँग मिलेर काम गरिन् भने सन् २०११ म पेन्सिलभेनियामा क्षेत्री एण्ड एसोसिएट्सको शाखा खोलियो । बन्दिताले त्यही आवद्ध भएर कानुन व्यवसायको यात्रालाई अगाडि बढाइन् । सन् २०१५ सम्म पेन्सिलभेनियामा बसेकी उनी त्यसपछि भने भर्जिनिया सरिन् ।

भर्जिनियामा श्रीमान् शीलले आनोभा अस्पताल फेयरफ्याक्समा काम गरे भने बन्दिताले आफ्नै ल फर्म खोलिन् सन् २०१५ को जुलाईमा । त्यसपछि उनले अमेरिकामा चर्चित नेपाली महिला कानुन व्यवसायीको परिचय बनाउँदै गइन् ।

तर यहाँसम्म आइपुग्दा आफ्नो विगत उनलाई एउटा कथाजस्तो लाग्छ । उनी भन्छिन् – ‘कैयन बर्षहरु अनिश्चितता बीचबाट विते । कलेजमा भर्ना पाउने नपाउने, छात्रबृत्ति पाउने नपाउने, बार परीक्षा उत्तिर्ण हुने नहुने, श्रीमान्ले रेसिडेन्सी पाउने नपाउने, कुन अस्पतालमा म्याच हुने जस्ता कैयन अनिश्चिता थिए । तर संघर्ष गरेर हामीले त्यो समयलाई पनि पार गर्यौं । यस्तै आप्रवासीको कथाजस्तै रह्यो हाम्रो कथा पनि ।’

नेपालमा सधै आत्मनिर्भर भएर काम गरेकी बन्दितालाई अमेरिका आउँदा धेरै अपेक्षा थियो । नेपालमा मानवअधिकारको क्षेत्रमा, युएनसँग सम्बन्धित क्षेत्रमा काम गरेकी र बाल्यकालदेखि नै आत्मनिर्भर उनलाई अमेरिका आएपछि भने चुनौतीको सामना गर्नुपरेको थियो । तर पनि उनले बच्चा हुर्काउँदै र पढाईलाई निरन्तरता दिंदै चुनौतीको सामना गरिन् । र आफ्नो लक्ष्यमा पुगिन् ।

उनी भन्छिन् – ‘बच्चा हुर्काउँदै पढाईलाई निरन्तरता दिनु सहज थिएन । त्यसपछि बच्चा हुर्काउँदै काम गर्न पनि सहज थिएन । तर सबै कुराको सन्तुलन मिलाएर काम गर्दै गएँ ।’

सहज थिएन सफलता

बच्चा हुर्काउँदै पेशाकर्मीका रुपमा अगाडि बढ्न पुरुषलाई जस्तो सहज नहुने भएपनि बच्चा हुर्काउनेमा पनि पुरुषको पनि जिम्मबारी हुने बताउँछिन् बन्दिता । त्यसमा श्रीमान्को प्रयाप्त सर्पोट पाएको बताउँछिन् उनी । र, अन्य श्रीमानलाई पनि सपोर्ट गर्न सुझाव दिन्छिन् ।

घरपरिवार र आफ्नो पेशा दुबै महत्वपूर्ण हुने उनको बुझाई छ । उनी भन्छिन् – ‘परिवार र पेशामा एउटाको बिरुद्ध अर्काे हुनुहुँदैन । जति महत्व कामको छ, त्यती महत्व परिवारको पनि छ । दुबैको सन्तुलन मिलाउनु चुनौतीपूर्ण अवश्य छ । तर मैले एउटाको बिरुद्ध अर्काे छान्नु परेन ।’

आप्रवासी भएर आप्रवासीका लागि काम गर्न पाउनु आफ्ना लागि अवशर भएको बताउँछिन् बन्दिता । त्यसको मूल्य छोराछोरीले समेत विस्तारै बुझ्दै गएकोमा उनी खुशी छिन् ।

श्रीमान् अस्पतालमा, श्रीमति ल फर्ममा । घरको काम कस्ले गर्छ नि ? बन्दिता भन्छिन् – ‘ हामी काम बाँडेर गर्छौैं । एउटाले विहान माझ्दा अर्कोले बेलुका माझ्ने भन्ने छैन । तर जस्ले भ्याउँछ, जो पहिले घरमा पुग्छ उसैले काम गर्छौं ।’

श्रीमान्को काम धेरैजसो सप्ताहन्तमा हुने र आफ्नो काम धेरैजसो हप्ताका दिनमा हुने भएकाले कामको सन्तुलन मिलेको बताउँछिन् बन्दिता ।

‘सपोर्ट नपाए सफलता पनि नमिठो हुन्छ’

नेपाली समाजमा कैयन महिलाहरुले श्रीमानका लागि आफ्नो इच्छालाई तिलाञ्जली दिएका र आफ्ना पेशा छाडेका उदाहरण पनि प्रसस्तै छन् । तर बन्दिताले यसतर्फ कहिले पनि सोंच्नु परेन । दुबैलाई आआफ्नो पेशामा अगाडि बढ्नका लागि एकअर्काको सपोर्ट रह्यो ।

बन्दिता भन्छिन् – ‘उहाँको मेडिकल लाइन नभएको भए मैले ल फर्म खोल्दा उहाँपनि त्यसमा आवद्ध भएर काम गर्नुहुन्थ्यो होला । त्यस्तै मेरो कानुनी क्षेत्र नभएको भए उहाँले मेडिकल खोल्दा म त्यसमा आवद्ध भएर काम गर्ने अवस्था आउन सक्थ्यो । तर हामी दुबै आआफ्ना पेशामा रहेकाले र दुबैको सपोर्ट एकअर्कालाई भएकाले त्यसबारे सोंच्नै परेन ।’

श्रीमान्को पेशाका लागि आफ्नो पेशा र व्यक्तिगत लक्ष्य छाड्न नहुने बताउँछिन् बन्दिता । उनी भन्छिन् – ‘हरेक महिलाले आफ्नो व्यक्तिगत लग्क्ष्य के हो त्यो हेर्नुपर्छ, जसले तपाईलाई खुशी बनाउँछ । आत्मसन्तुष्टी र खुशी जेमा छ त्यही क्षेत्रमा अगाडि बढ्नुपर्छ । बुबाआमाले दुख गरेर पढाउनुभएको छ, आफ्नो पहिचान सहजै छाड्नुहुँदैन ।’

तर त्यसका लागि परिवारको सर्पोट मुख्य कुरा हो । बन्दिताको भनाई पनि त्यही छ । उनी भन्छिन् – ‘मेरो सर्कलका धेरै साथीहरु मेडिकल लाइनमा छन् । उनीहरुले रातीमा समेत काम गर्नुपर्छ । यस्तो बेलामा दुबैको परिवारको सपोर्ट जरुरी हुन्छ । परिवारको सपोर्ट नभए आफूले गरेको काममा सन्तुष्टी हुँदैन ।’

पुरुषको सफलतामा महिलाको हात हुन्छ भनिएजस्तै महिलाको सफलतामा पनि पुरुषको हात हुने बताउँछिन् बन्दिता । उनी भन्छिन् – ‘२२ बर्षको उमेरमा विहे भएदेखि नै हामी दुबैले यो यात्रा सँगसँगै गरेका छौं । उहाँको सपोर्टले र बुवाआमाको आशिर्वादले अहिले पनि यो स्थानमा छु । सपोर्ट भएन भने आफू जहाँ पुग्दा पनि खल्लो लाग्छ । सपोर्ट नपाए सफलता पनि नमिठो हुन्छ ।’

परिवारलाई समय

पेशागत रुपमा काम गर्नेहरुले परिवारलाई समय दिनेमा समस्या देखिन्छ । तर परिवारका लागि समय छुट्याउनु महत्वपूर्ण भएका बताउँछिन् बन्दिता । कैयन कानुन व्यवसायीहरु सप्ताहन्तमा पनि काममा व्यस्त देखिन्छन् । कतिपय राती ८ बजेसम्म पनि काममा देखिन्छन् । तर बन्दिता विहान आठ नौ बजेतिर अफिस आउँछिन् र पाँचबजेतिर घर फर्किन्छिन् ।

सुरु सुरुमा त बन्दितालाई अफिसको तनाव घरमा पनि हुन्थ्यो । कहिलेकाँही सपनामा पनि केसहरु देख्ने गर्थिन् । तर अहिले भने घरमा कामको तनाव ल्याउँदिनन् उनी । भन्छिन् – ‘अहिलेचाही कामकै रुपमा मात्र लिन थालेकी छु । ११ बर्ष काम गर्ने दौरानमा काम र परिवारलाई अलगअलग बनाउने क्षमता विकाश भइरहेको छ ।’

पेशा र सामाजिक दायीत्वको तालमेल

कुनै केस जित्दा अत्यन्तै खुशी लाग्ने तर हार्दा भने के कारणले हारियो जस्तो लाग्ने गरेको बताउँछिन् उनी । उनी भन्छिन् – ‘केस जित्दा व्यक्तिगत रुपमा पनि खुशी लाग्छ । कोही परिवार छाडेर आएका हुन्छन्, कोही संघर्ष गरिरहेकाहरु हुन्छन् । हरेक केससँग अट्याचमेन्ट बनिसकेको हुन्छ । त्यसैले केस जित्दा व्यक्तिगतरुपमा नै खुशी लाग्छ भने हार्दा व्यक्तिगत रुपमा नै दुख लाग्छ ।’

तर केस लिंदा शतप्रतिशत जितिन्छ भनेर लिएको नहुने र अध्यागमनमा दुई र दुई जोड्दा ४ नहुने उनको तर्क छ । उस्तै केसमा पनि कोही जित्ने कोही नजित्ने गरेको उनको अनुभव छ । जित्ने ग्यारेन्टी गर्ने वकिल लिनुहुदैन र आफूले पनि जित्ने कुराको ग्यारेन्टी नगर्ने उनी बताउँछिन् । उनी भन्छिन् – ‘म जित्ने ग्यारेन्टी त गर्दिन । तर इमान्दारिताका साथ प्रयास गर्छु । म आफनो दक्षता भएको केसमात्र लिन्छु ।’

बन्दिताले आफ्नो समय सामाजिक क्षेत्रमा पनि खर्चदै आएकी छिन् । नेपाली समुदायलाई अध्यागमनबारेका विभिन्न जानकारीहरु दिने कार्यक्रमहरुमा बेलाबेलामा सहभागी हुन्छिन् उनी । नेपालमा मानवअधिकार, महिला अधिकार र सम्पत्तिको अधिकारजस्ता क्षेत्रमा काम गरेकी बन्दिताले अमेरिकामा आप्रवासीको अधिकारको पक्षमा आफूलाई उभ्याउँदै आएकी छिन् ।

अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसनमा आवद्ध उनी उक्त संस्थामार्फत आएका कतिपय मुद्दाको निशुल्क समेत प्रतिनिधित्व गर्छिन् । उक्त संस्थाको हरेक महिनाको गतिविधिमा जाने लगायत आप्रवासी अधिकारसँग सम्बन्धित संस्थाले रिफर गरेको मुद्दामा निशुल्क प्रतिनिधित्व गर्छिन् उनी । र, घरेलु हिंशा, मानवस्तरीको शिकार लगायतका मुद्दा आउँदा कम शुल्कमा काम गर्ने बताउँछिन् उनी ।

बन्दिताले एनआरएनए अमेरिकाको निर्वाचनमा निर्वाचन आयुक्त भएर समेत काम गरिन् । त्यो आफ्ना लागि मौका र अनुभव भएको बताउँछिन् उनी । तर वातारण आफूले अपेक्षा गरेभन्दा धेरै राजनीतिकरण भएकाले उनलाई स्वयंसेवकका रुपमा काम गरेजस्तो पनि लागेन । उनी भन्छिन् – ‘तर निर्वाचन आयुक्तका रुपमा काम गर्दा सहनशक्ति बढायो । मेरो छाला बाक्लो बनायो । त्यो भन्दा अगाडि अलि बढी नै संवेदनशिल थिएँ ।’

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com