न्यूयोर्कको निजी क्षेत्रमा ठूलो धक्का: ६० दिनभित्र ३० हजार रोजगारी कटौती
प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार
Photo: Michael Discenza/Unsplash
न्यूयोर्क शहरको निजी क्षेत्रले पछिल्लो दुई महिनामा ३० हजार रोजगारी गुमाएको छ। सिटी कम्प्ट्रोलर मार्क लेभिनको कार्यालयद्वारा सार्वजनिक पछिल्लो प्रतिवेदन अनुसार अगस्ट महिनामा ७,४०० रोजगारी कटौती भएकोमा सेप्टेम्बरमा थप २३,००० रोजगारी गुमेको हो।
खासगरी वित्तीय क्षेत्र र पर्यटन/अतिथ्य क्षेत्रमा यो गिरावट मुख्य रूपमा देखिएको छ। पर्यटकहरूको चहलपहल राम्रै रहे पनि सेप्टेम्बर महिनामा मात्र अतिथ्य क्षेत्रबाट ७,७०० रोजगारी गुमेको छ भने विगत एक वर्षमा यो संख्या १७,००० पुगेको छ। त्यस्तै, शहरको कर असुलीको प्रमुख स्रोत मानिने वित्तीय क्षेत्रमा सेप्टेम्बरमा झण्डै ६,००० पदहरू घटेका छन्।
प्रतिवेदन अनुसार, न्यूयोर्क शहरको निजी क्षेत्रले गत एक वर्षको अवधिमा कुल ३२,००० पदहरू गुमाएको छ। राष्ट्रिय स्तरमा मुद्रास्फीति ०.६ प्रतिशतले बढेको भए पनि न्यूयोर्क शहरमा यो वृद्धि अघिल्लो वर्षको तुलनामा ४.५ प्रतिशत पुगेको छ। साथै, घरभाडा ५ प्रतिशतभन्दा बढी र ऊर्जाको मूल्य २१ प्रतिशतभन्दा बढीले महँगो भएको छ।
बढ्दो सञ्चालन खर्च र ढिलासुस्तीका कारण साना तथा मझौला व्यवसायीहरू व्यवसाय बन्द गर्न बाध्य भएका छन्। अपर इस्ट साइडका रेस्टुरेन्ट व्यवसायी साम मुसोभिक भन्छन्, “कच्चा पदार्थ, अण्डा, भाडा र बीमाको मूल्य दोब्बर भएको छ। अमेरिकी सपना अब मर्दै गएको छ।”
यस्तै, लोरिङ प्लेसका सञ्चालक तथा सेफ ड्यान क्लुगरले कर, बीमा र बिजुलीको महसुल धान्नै नसकिने गरी बढेकाले १० वर्ष पुरानो रेस्टुरेन्ट स्थायी रूपमा बन्द गर्नुपरेको बताएका छन्।
एनवाईसी हस्पिटालिटी एलायन्सका कार्यकारी निर्देशक एन्ड्र्यु रिगीका अनुसार श्रम, खाद्यान्न, बीमा, भाडा र नियमन पालनाको बढ्दो खर्चले रेस्टुरेन्ट तथा बारहरू संकटमा परेका छन्। व्यवसायीहरूले भवन निर्माण तथा नवीकरणको अनुमति पाउन पहिले ४ हप्ता लाग्ने गरेकोमा अहिले १० देखि १५ हप्तासम्म कुर्नुपर्ने प्रशासनिक ढिलासुस्तीलाई पनि रोजगारी गुम्नुको प्रमुख कारण बताएका छन्।
तथापि, प्रतिवेदनले शहरको बेरोजगारी दर ४.८ प्रतिशतमा स्थिर रहेको र आवासीय तथा कार्यालयको भाडा बजार चलायमान रहेकाले समग्र स्थिति पूर्ण रूपमा निराशाजनक भने भइनसकेको उल्लेख गरेको छ।





