…आँखा बन्द गरेर माइतीले अन्माइदिए


प्रकाशित मिति : पुस ८, २०८१ सोमबार

माया केसी सामान्य महिला होइनन् । उनी सशक्तीकरणको प्रतीक हुन भन्दा, फरक पर्दैन । जसले कलिलो उमेरदेखि नै चरम यातना र घरेलु हिंसाको भयावह अवस्थाको सामना गर्दै अन्ततः आत्मनिर्भर भएर आफ्नै जीवनलाई नयाँ मोड दिएकी छिन् । उनको जीवन कथा नेपाली दिदी बहिनीहरूको लागि प्रेरणा पनि हो । अप्ठ्यारो परिस्थितिबाट आफूलाई कसरी अगाडी बढाउने र जीवनमा सुन्दरता थप्ने ।

माया केसीको जन्म २०३५ सालमा पूर्वी नेपालको एउटा गाउँमा भएको हो । मायाका बुबा भारतीय सैनिक थिए । जसका कारण उनको बाल्यकाल भारतमै बित्यो । उनले कक्षा ८ सम्म भारतीय विद्यालयमा अध्ययन गरिन् । पढाइप्रतिको लगाव निकै थियो, उनी पढाइमा अब्बल दर्जाको विद्यार्थी थिइन । ‘अप्सनल म्याथ’ जस्तो कठिन विषय लिएर पढ्ने उनले कहिल्यै कमजोर विद्यार्थीको रूपमा चिनिनु परेन । तर दुर्भाग्यवश, उनले केवल कक्षा १० पास गर्ने मात्र मौका पाइन ।

“पढाइलाई जारी राख्न मन थियो,” माया सम्झन्छिन् “तर, नेपाल फर्किएपछि मैले मेरो शिक्षाको यात्रा रोक्नुपर्ने बाध्यता आई लाग्यो ।” १५ वर्षको उमेरमा बिहेको प्रस्ताव आयो। उनका बाबुआमाको पहिलो पटक छोरी माग्न आउनेलाई दिनुपर्छ भन्ने परम्परागत सोचकै कारण माया त्यसको सिकार बनिन् । कसैले राम्रो केटा हो भनेकै भरमा उमेर नै नपुगेको छोरीलाई आँखा बन्द गरेर माइतीले अन्माइदिए ।

नर्कको जीवन :
मायाको बिहे आफूभन्दा १७ वर्ष जेठो पुरुषसँग भयो । गाउँको केटासँग विवाह हुँदा उनी भर्खरै १५ लागेकी थिइन । यो विवाह उनका लागि जबरजस्ती थियो । उनीसँग निर्णयको कुनै अधिकार थिएन । बाल्यकालमै विवाह गर्नु, त्यसपछि भारतमा जानु र नयाँ रहनसहनसँग जुध्नु उनका लागि सजिलो थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको जीवनको यो नयाँ अध्याय कल्पनाभन्दा फरक र निकै दर्दनाक तथा पीडादायक थियो । “मलाई कसैसँग बोल्न पनि दिइँदैनथ्यो। नेपालमा रहेका आमा बुबासँग सम्पर्क गर्न त झनै असम्भव थियो, श्रीमानले बाहिर जाँदा मलाई कोठामा ताल्चा लगाएर जान्थेँ” उनी भन्छिन् ।

श्रीमानले दिएको यातना असह्य थियो । पहिलो बच्चा तीन महिनाको गर्भमै खेर गयो। दोस्रो पटक छोरी जन्मियो, तर श्रीमानको यातनामा कमी आएन झन् बढ्दै गयो । श्रीमानले दिने मानसिक र शारीरिक यातनाले उनलाई ज्यूँदै नर्कमा बाँच्न बाध्य बनायो। “पुस,माघको कठ्याङ्ग्रिने जाडोमा कपडा लगाउन नदिईकन रात बिताउन बाध्य बनाइयो। त्यो सम्झँदा अहिले पनि मेरो शरीर काँप्छ,” उनी आँखा भरी आँसु पार्दै कहाली लाग्दो विगत सुनाइन ।

साहसको निर्णय: स्वतन्त्रताको यात्रा
घरबाट बाहिर निस्कन पाउनु त परै जाओस्, आफ्नो माइतीसँग पनि बोल्न पाउँदैन थिइन ।

माया बताउँछिन् “श्रीमानले दिने चरम यातनाले शरीरमा चोट नलागेको ठाउँ थिएन, माइतीले मेरो कुरा बुझेनन्, त्यसपछि मैले श्रीमान् बाथरुममा गएको बेला घरबाट भागेँ । अनि एक भारतीय वृद्ध आमाको घरमा सरण लिन पुगेँ । अनि उहाँको घरमा काम गर्ने निर्णय गरे । यो मेरो जीवन बदल्ने निर्णय थियो ।”  घरबाट निस्कँदाको रात कतै श्रीमानले भेट्छ कि भन्ने डरले निकै सतायो उनलाई । तातो तावा र कुटपिटका घाउहरू उनका शरीरका प्रमाण थिए।

एक वर्षसम्म उनले भारतीय महिलाको घरमा काम गरिन्। माइतीलाई आफ्नो वास्तविक बुझाउनु घरबाट निस्कनु पर्‍यो । उनका पीडा माइतीले पनि बुझेनन्। समाजका गलत मान्यताहरूले कमजोर बनायो।

रातदिन श्रीमानले कुटेको कुरा गर्दा छोरी मान्छेले सहनुपर्छ भन्दै घर पठाउने गर्दथेँ । जब उनको विद्रोह घरबाट निस्किएन, तब बल्ल माइतीको आँखा खुल्यो । त्यसपछि माइतीको साथ पाएपछि अनि नेपाल आइन । माइतीको सहयोगमा उनले श्रीमानसँग छुट्टिने निर्णय गरिन्। “जुन दिन मैले छुट्टिने निर्णय गरेँ, त्यस दिन मैले पहिलो पटक महसुस गरेँ कि म पनि एक व्यक्ति हुँ। मेरो जीवनको मूल्य छ।” छोरीको मुख हेरेर उनले आफूभित्र जिउने साहस फेला पारिन्।

जीवनको नयाँ यात्रा र समाजसेवा :

श्रीमानसँग छोड पत्र गरेपछि माया रोजगारीको लागि ओमन पुगिन । उनी हिन्दी र अङ्ग्रेजी बोल्न सक्ने भएकाले त्यहाँको काममा भाषागत समस्या भएन। तीन वर्ष ओमनमा एक पसलमा कामदारका रूपमा बिताएर नेपाल फर्किएपछि उनले आफ्नो छोरीलाई मेडिकल पढाउन सफल भइन् । छोरी अहिले कमाउने भएकी छिन् । “म एक्लै भए पनि मेरो छोरीको भविष्य सुनिश्चित गर्न चाहन्थेँ। उनलाई राम्रो शिक्षा दिनु नै मेरो प्राथमिकता थियो,” उनी गर्वका साथ भन्छिन्।

विदेशमा रहँदा, उनले घरेलु कामदारको रूपमा गएका नेपाली महिलाले पाएको दुःखको लामो फेहरिस्त सुनाउँदै भनिन्, साथीहरू मिलेर नेपाली समाज बनायौँ र उनीहरूको उद्धारमा लाग्यौँ,” माया सम्झन्छिन्। यस क्रममा उनले धेरै महिलालाई सुरक्षित रूपमा नेपाल पठाउन सहयोग गरिन्। उनी गाउँमा रहेका महिला दिदी बहिनीलाई प्रौढ शिक्षा पढाउँदै आफूले सिकेको सिप समेत सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएकी छन् ।

मायाको जीवनले उनलाई एउटा महत्त्वपूर्ण पाठ सिकायो—सहनु गलत हो। “पहिला म सोच्थेँ कि सहनु नै महिलाको धर्म हो। तर अहिले बुझेँ, महिलाले सहेर बस्नु भनेको यातना दिनेहरूको हौसला बढाउनु हो,” उनी भन्छिन् ।

मायाको सन्देश :
माया केसी आज आफ्नै खुट्टामा उभिएर समाजमा प्रेरणा दिइरहेकी छिन्। उनी भन्छिन्, ‛हिलाले आत्मसम्मान कहिल्यै गुमाउनु हुँदैन। गल्ती सहनु गल्ती गर्ने जत्तिकै ठुलो दोष हो। जो महिलाहरू हिंसा सहिरहेका छन्, उनीहरूलाई म भन्छु-आफ्नो लागि लड्नुहोस्। बाहिर आएर काम गर्नुस् ।”

माया केसीको जीवन कथा एक प्रेरणादायक कथा हो । साहस र आत्मनिर्भरताले कसरी एक व्यक्तिको जीवन सुन्दर र परिवर्तन हुनसक्छ भन्ने ज्वलन्त उदाहरण पनि हो । माया, एक समय हिंसाको सिकार थिइन्, आज महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

माया आज स्वतन्त्र र आत्मनिर्भर छिन्। उनले आफूजस्तै पीडित महिलाहरूलाई जीवनका कष्टहरूसँग लड्न प्रेरणा दिइरहेकी छिन्। उनी भन्छिन्, “जिउने आँट गर्नुहोस्, आफ्नो अधिकारको लागि लड्नुहोस्। तपाईँको जीवन अमूल्य छ।”

मायाको जीवन सङ्घर्षले घरेलु हिंसाबाट पीडित महिलाहरूलाई आफ्नो जीवनका लागि नयाँ सुरुवात गर्ने प्रेरणा दिन्छ ।

( उनको आग्रहमा नाम परिवर्तन गरिएको छ ।)

तस्वीर : प्रतिकात्मक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com