ओबामाद्वारा ट्रम्प प्रशासनको तीव्र आलोचना, आधुनिक इतिहासकै असक्षम र भद्रगोल शासन
प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार
Photo: History in HD/ Unsplash
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनमाथि तिखो व्यङ्ग्य गर्दै तीव्र आलोचना गरेका छन्। ओहायो र मिसिगन राज्यमा आयोजित मध्यावधि निर्वाचको चुनावी सभाहरूलाई सम्बोधन गर्दै ओबामाले ट्रम्प प्रशासनलाई “आधुनिक इतिहासमा कहिल्यै नदेखिएको असक्षमता, अराजकता र भ्रष्टाचारको प्रतीक” भनेका छन्।
ओहायोको क्लिभल्यान्डमा आयोजित सभामा ओबामाले ट्रम्पको दोस्रो कार्यकाल केवल “अराजकता, निष्ठुरता र भ्रष्टाचारको दुई वर्ष” भएको दाबी गरे। ह्वाइट हाउसको पछिल्लो पुनर्निर्माण र सजावटको व्यङ्ग्य गर्दै ओबामाले भने, “ह्वाइट हाउसलाई ट्रम्पले यसरी सजाएका छन् मानौ सद्दाम हुसेनले चिजकेक फ्याक्ट्री खोलेका हुन्। जहाँ हेर्यो त्यहीँ सुनै सुन मात्रै छ।”
यसै क्रममा ओबामाले ओहायोका गभर्नर पदका रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीको विवादित चुनावी विज्ञापनको पनि आलोचना गरे, जसलाई उनले अमेरिकी राजनीतिमा आएको गिरावटको उदाहरण बताए।
अर्कोतर्फ, सोही दिन जर्जियामा आयोजित आफ्नो चुनावी सभाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाका दाबीहरूलाई खण्डन गरे। ट्रम्पले आफ्नो शासनकालका उपलब्धिहरू पूर्ववर्तीहरूभन्दा धेरै माथि रहेको दाबी गर्दै ओबामाको भाषणलाई रिपब्लिकन पार्टीको मजबुतिको सङ्केतका रूपमा चित्रण गरे।
मध्यावधि निर्वाचन नजिकिँदै गर्दा दुवै पूर्व र वर्तमान राष्ट्रपतिहरू आ-आफ्नो पार्टीका उम्मेदवारहरूको पक्षमा प्रचारप्रसारमा सक्रिय रूपमा होमिएका छन्।





