एकदिनमा न्युयोर्कमा कोरोना संक्रमणबाट ५ को मृत्यु, मार्च १५ यताकै सबैभन्दा कम


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

न्युयोर्क राज्यमा कोरोना संक्रमणबाट मृत्युदर नियन्त्रणमा आएको छ । शनिबार कोरोना संक्रमणबाट पूरै न्युयोर्क राज्यमा मृत्यु हुनेको संख्या ५ मात्रै रहेको गभर्नर एन्ड्रयु कुमोले आज जानकारी दिएका छन् ।

अहिले न्युयोर्कका अस्पतालहरुमा भर्ना भएकाहरुको संख्या पनि घट्दै गइरहेको छ । शनिबारसम्म अस्पतालमा भर्ना भएकाहरुको संख्या ९ सय भन्दा कम रहेको जनाइएको छ । शनिबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेकाहरुको संख्या ८६९ रहेको थियो । जसमध्ये नयाँ भर्ना हुनेहरु ५४ जना रहेका थिए ।

न्युयोर्क राज्यमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या पछिल्लो एकदिनमा ६१६ मात्र रहेको छ । टेस्ट गरिएकाहरुमध्ये एकप्रतिशतभन्दा कममामात्र कोरोना पोजेटिभ देखिएको छ । कुमोका अनुशार शनिबार न्युयोर्क सिटीमा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या ३१६ रहेको थियो ।

न्युयोर्कसहित डेलावर, इन्डियाना, मेरिल्याण्ड, मासाचुसेट्स, नेब्रास्का, न्यु ह्याम्पशायर, न्युजर्सी, नर्थ डाकोटा, ओरेगन, साउथ डाकोटा र भर्जिनियामा संक्रमण दरमा बढोत्तरी देखिएको छैन । कनेक्टिकट र रोढ आइल्याण्डमा भने गत हप्ताको तुलनामा संक्रमितको संख्यामा गिरावट आएको छ ।

तर फ्लोरिडासहित ३६ वटा राज्यमा भने संक्रमितको संख्या बढ्दो रहेको छ । शनिबारमात्र फ्लोरिडामा एकैदिन ९ हजार ५ सय ८५ मा संक्रमण पुष्टी भएको छ भने आइतबार थप ८ हजार ५ सय ३० मा संक्रमण पुष्टी भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com