अमेरिकी सरकारले मृत्यु भइसकेका १० लाखलाई पठायो १२ सय डलरको राहत चेक


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

अमेरिकी सरकारले मृत्यु भइसकेका १० लाख भन्दा धेरैलाई गल्तीले १२ सय डलरको राहत चेक पठाएको खुलासा भएको छ । यसरी राहत चेक पठाइएकाहरु पहिले नै मृत्यु भइसकेकाहरु भएकाले उनीहरुका नाममा पठाइएको चेक अरुले लिन नपाउने प्रावधान रहेको छ ।

सरकारले यसरी बैंकमा डाइरेक्ट डिपोजिट गरेको पठाएको कैयनको रकम फिर्ता लिइसकेको जनाइएको छ । त्यस्तै आईआरएसले मृतकका नाममा गएको चेक फिर्ता गराउनका लागि समेत पहल थालिसकेको जनाएको छ ।

अप्रिल ३० सम्ममात्र अमेरिकी सरकारले झण्डै ११ लाख मृत्यु भइसकेका व्यक्तिका नाममा १ दशमलव ४ बिलियन डलर पठाएको जनाइएको छ । १६० मिलियनलाई चेक पठाउँदा मृतकलाई रकम पठाइएको प्रतिशत कम भएपनि आलोचकहरुले यसलाई सरकारको लापरवाही बताएका छन् ।

राहत रकम पठाउनका लागि आईआरएससँग दवाव भएकाले र २ बर्षको अवधिमा मृत्यु भएकाहरुको विवरण आईआरएससँग तत्काल नहुँदा यस्तो समस्या आएको बताइएको छ । त्यस्तै कोरोनाकै महामारीका कारण समेत अमेरिकामा झण्डै १ लाख २५ हजारको मृत्यु भएको छ ।

आईआरएसले मृतकका नाममा गएको राहत रकमबारे पहिलोपटक मार्चको अन्तिमतिर प्रश्न उठाएको थियो । जतिबेला संसदमा राहत चेकबारे कानुन बनाउने काम भइरहेको थियो । सन् २०१९ मा ट्याक्स फाइल गरेकाहरुलाई राहत रकम रोक्ने आईआरएससँग कानुनी अधिकार नभएका कारण पनि त्यसपछि मृत्यु भएकाहरुको खातामा रकम गएको हो ।

त्यस्तै सन् २०१८ को ट्याक्स फाइल गरिसकेका तर त्यसपछि मृत्यु भएकाहरुको खातामा समेत आईआरएसले रकम पठाएको हो । सोसल सेक्युरिटी प्रशासनसँग भएको मृत्युको रेकर्डसँग सुरुमा आईआरएसले जाँच नगरेपनि अहिले उक्त रेकर्डसँग भिडाएर रकम फिर्ता गर्न थालेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com