अंकमाल गरेको भिडियोलाई लखेटेको बनाएर पोष्ट गरेपछि ट्वीटर र फेसबुकले हटायो ट्रम्पको पोष्ट


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

एकजना अश्वेत र एकजना श्वेत बालकले एकअर्कालाई अंकमाल गरेको भिडियोलाई सीएनएनले एकले अर्कालाई लखेटेको रुपमा प्रशारण गरेको भन्दै  सीएनएनको लोगो र ब्रेकिङ न्यूज थपेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा हालेको भिडियो सामाजिक सञ्जालले हटाइदिएका छन् । राष्ट्रपति ट्रम्पले उक्त भिडियो ट्वीटर र फेसबुकमा हालेका थिए ।

वास्तविक भिडियोमा २ बर्षका बालकहरु म्याक्सवेल र फिनेगन एकअर्कालाई अंकमाल गर्न दौडेका थिए । तर ट्रम्पले गरेका पोष्टमा यो भिडियोलाई परिवर्तन गरी एकले अर्कालाई लखेटेको बनाइएको छ । तर सीएनएनले भने एकले अर्कालाई लखेटेको रुपमा उक्त भिडियो कहिलेपनि प्रशारण नगरिएको जनाएको छ ।

वास्तविक भिडियो र ट्रम्पले ट्वीट गरेको भिडियो हेर्नुहोस् :

गत बर्ष दुई बालकले अंकमाल गरेकै रुपमा यो भिडियो सीएनएनले प्रशारण गरेको थियो । तर ट्रम्पले भिडियोलाई गलत तरिकाले सीएनएनको लोगो र ब्रेकिङ न्यूज थपेर सीएनएनले विभेदकारी बच्चाबाट डराएको बालक भाग्दै, विभेदकारी बच्चा सम्भवत ट्रम्पको मतदाता भनेर समाचार प्रशारण गरेको जसरी सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सीएनएनलाई गलत समाचार प्रशारण गर्ने संचारमाध्यमका रुपमा व्यंग्य गर्न ट्रम्पले यस्तो भिडियो पोष्ट गरेका थिए ।

ट्रम्पको फेसबुकमा ४ मिलियनले र ट्वीटरमा २० मिलियनले हेरेको यो भिडियो दुईमध्ये एकजना बच्चाका बाबुले प्रतिलिपी दावी गरेपछि ट्वीटर र फेसबुकले हटाइदिएको हो । हटाउनुअगाडि ट्वीटरले उक्त भिडियोमा म्यानीप्युलेटेड भिडियोको ट्याग लगाएको थियो । दुई बालकले अंकमाल गरेको भिडियो भाइरल भएपछि गतबर्ष सीएनएनले उनीहरुका दुबैजना पितालाई टेलिभिजन शोमा समेत ल्याएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com