बेरोजगारी विमाबाट बढी रकम पाउनेलाई रकम फिर्ता गर्न पत्राचार
प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार
कतै तपाईले बेरोजगारी विमाबाट बढी रकम त पाउनुभएको छैन ? यदि तपाईले पाउनुपर्ने भन्दा बढी रकम पाइरहनुभएको छ भने तपाईले उक्त रकम फिर्ता गर्नुपर्ने हुनसक्छ ।
सरकारी निकायको गल्तीका कारण तपाईले बढी रकम पाउनुभएको भएपनि त्यो रकम फिर्ता गर्नुपर्ने हुनसक्छ । बढी रकम प्राप्त गरेकाहरुलाई राज्यका लेबर डिपार्टमेन्टहरुले ४५ दिनभित्र रकम फिर्ता गर्नका लागि पत्र पठाउन सुरु गरेका छन् ।
कैयन उबर र लिफ्ट चालकहरुले सेल्फ इम्प्लोयडका रुपमा फर्म भर्नुको साटो उबर र लिफ्टलाई रोजगारदाता बनाएर बेरोजगारी विमा रकमको फर्म भरेका कारण लेबर डिपार्टमेन्टले भूलवश उनीहरुलाई बढी रकम पठाइरहेको पत्ता लागेको छ । यदि कोही व्यक्ति उबर वा लिफ्ट चालक हो तर उसको पीयुएको साटो नियमित बेरोजगारी विमा स्वीकृत भएको छ भने त्यो लेबर डिपार्टमेन्टको वा आवेदकको बुझाएको विवरणको भूलवश भएको हुनसक्छ ।
न्युयोर्कमा काम गुमाएका अधिकांश लिफ्ट वा उबर चालकहरुले पीयुएबाट साप्ताहिक १८२ डलर र संघीय महामारी बेरोजगारी सहायताबाट साप्ताहिक ६ सय डलर पाइरहेका छन् । यदि उक्त रकम भन्दा बढी पाइरहेको खण्डमा त्यो भूलवश समेत भएको हुनसक्ने जनाइएको छ ।
केहीदिन अगाडि ओरेगनमा एकजना व्यक्तिले एकैदिनमा ३७ वटा चेकहरु प्राप्त गरेका थिए । त्यस्तै न्युयोर्कमा एकजना पत्रकार जेसिका मेन्टनले एकैपटक ४ हजार डलर प्राप्त गरेकी थिइन् ।
मे ३० सम्म अमेरिकाका ३४ वटा राज्यहरुमा ६ लाख २३ हजार भन्दा धेरैले पीयुए आवेदन दिइसकेका छन् भने अहिलेसम्म ओहायोमामात्र २४ हजार भन्दा धेरैलाई रकम फिर्ता गर्न पत्राचार गरिसकिएको छ ।






