स्टारबक्सले अमेरिका र क्यानडामा रहेका ४ सय स्टोरहरु बन्द गर्ने
प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार
चर्चित कफी ब्राण्ड स्टारबक्सले अमेरिका र क्यानडामा रहेका आफ्ना ४ सय स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोनाको महामारीका कारण यो क्वाटरमा ३ दशमलव २ बिलियन डलरको घाटा बेहोरेको कम्पनी स्टारबक्सले आगामी १८ महिनाभित्र ४ सय स्टोरहरु बन्द गर्ने जनाएको छ ।
कहाँकहाँका स्टोरहरु बन्द गर्ने भन्ने सन्दर्भमा स्टारबक्सले केही बताएको छैन । तर धेरै भींडभाड हुने स्थलहरु, मलहरु र क्याम्पसहरुमा रहेका स्टोरहरु बन्द गर्ने जनाएको छ ।
अहिले स्टारबक्सका क्याफेहरु भित्र बस्न पाउने सुविधा हटाएर खोलिसकिएको छ । तर अब स्टारबक्सले आफ्ना विजनेश मोडल पनि परिवर्तन गर्ने भएको छ । स्टारबक्समा कफी पिउदै दिनभर बस्नेहरुका लागि यो खबर नराम्रो छ । किनभने अब स्टारबक्सले पिकअप स्टोरमा जोड दिने भएको छ ।

गत नोेभेम्बरमा न्युयोर्कको पेन प्लाजामा स्टारबक्सले पहिलो पिकअप स्टोर खोलेको थियो । पछिल्लो समयमा धेरै ग्राहकहरुले स्टारबक्सको कफीजन्य उत्पादनका लागि मोबाइलबाट अर्डर गर्ने क्रम निकै बढेको छ ।
अमेरिका र क्यानडामा स्टारबक्सका झण्डै १० हजार स्टोरहरु रहेका छन् । साधारणतया विभिन्न कारणले स्टारबक्सले हरेक बर्ष झण्डै १ सय स्टोरहरु बन्द गर्दै आएको छ ।






