लक्षण नहुनेबाट कोरोना संक्रमण कम हुने बताएको विश्व स्वास्थ्य संगठनले फेरी फेर्यो बोली
प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबारे बोली फेरेको छ । सोमबारमात्र लक्षण नदेखिएका व्यक्तिले अरुलाई कोरोना सार्ने दर अत्यन्तै दुर्लभ रहेको बताएकोमा मंगलबार लक्षण नभएकाहरुले संक्रमण फैलाउने विषयमा कैयन कुुराहरु अज्ञात रहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीले सोमबारमात्र लक्षण नहुनेहरुबाट कोरोना सर्नेदर अत्यन्तै कम रहेको बताएका थिए । तर विश्वभरका वैज्ञानिकहरुको आक्रोशपूर्ण बहस र विश्व स्वास्थ्य संगठनको चौतर्फी आलोचनापछि विश्व स्वास्थ्य संगठन आफ्नो पुरानै भनाईमा फर्केको छ ।
२४ घण्टा पनि नबित्दै गरिएको अर्को पत्रकार सम्मेलनमा अधिकारीहरुले लक्षण नदेखिएकाहरुबाट हुने संक्रमणबारे अहिलेसम्म धेरैकुराहरु अज्ञात रहेकोमा जोड दिएका छन् । यद्यपी सोमबार लक्षण नभएकाहरुबाट सर्ने दर कम भएको बताएपछि मास्क लगाउन नपर्ने र सामाजिक दुरी कायम गर्न नपर्ने विषयमा तर्कहरु उठ्न सुरु गरिसकेका थिए ।
विश्व स्वास्थ्य संगठनका अधिकारीले हिजोको भनाई गलत बुझाई भएको बताएका छन् । सोमबारको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका अधिकारीले भनेको विषय विश्व स्वास्थ्य संगठनको नीति नभएको मंगलबार स्पष्ट पारिएको छ ।
विभिन्न अध्ययनहरुले लक्षण नभएका व्यक्तिबाट पनि कोरोना फैलिने गरेको बताएका छन् । तर लक्षण नहुनेहरुबाट संक्रमण दर कुन स्तरमा रहेको छ भन्ने प्रश्न अनुत्तरित नै रहेको छ ।
विश्व स्वास्थ्य संगठनले जनवरी १४ मा गरेको एउटा ट्वीटमा चीनिया अधिकारीहरुले गरेको प्रारम्भिक अनुसन्धानलाई उदृत गर्दै कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने स्पष्ट प्रमाण नरहेको बताएको थियो । जुन सुचनामा आधारमा कैयन व्यक्ति भ्रमित बनेर यात्रा गर्दा कोरोना संक्रमण विश्वमा फैलिन मद्दत पुगेको थियो ।
Two biggest mistakes of @WHO pic.twitter.com/cWYtDYxVRD
— Kishor Panthi (@KishorPanthi) May 30, 2020
त्यस्तै मार्च १ मा अर्को ट्वीट गरेर विश्व स्वास्थ्य संगठनले बिरामीहरु र विरामीको हेरचाह गर्नेहरुले बाहेक अरुले मास्क लगाउन नपर्ने बताएको थियो । यो सुचनाका भर परेर युरोप र अमेरिकामा मार्चको अन्तिमसम्म पनि कैयनले मास्क लगाएका थिएनन् । मास्कको प्रयोग नगर्नुलाई कोरोना भाइरस छिटो फैलिनुको अर्को कारणका रुपमा लिइएको छ ।






