अमेरिकामा पक्राउ परेका वैज्ञानिक रिहा


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताएका छन् । मन्त्री जरिफले इरानी बैज्ञानिक डा.सिरोज असगरी सवार बिमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताए ।

डा.असगरीमाथि अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उनी त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा गएका थिए । तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय बैज्ञानिक डा.असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो ।

गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा.सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामान समेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिएका थिए । सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा असगरीमाथिको मुद्दा टुंगिएको जानकारी दिएका थिए । इरान र संयुक्तराज्य अमेरिका दुबैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् ।

इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् ।
एएफपी/Photo: Arab Times

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com