न्युयोर्कमा कर्फ्यु मंगलबार पनि, बेलुका ८ बजेदेखि नै सुरु हुने


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

न्युयोर्क सिटीमा भोलि बेलुका ८ बजेपछि पनि कर्फ्यु लगाइने भएको छ । आज राती ११ बजेदेखि कर्फ्यु आदेश जारी गरिएकोमा न्युयोर्कका मेयर बिल ब्लाजिओले मंगलबार बेलुकाका लागि पनि कर्फ्यु आदेश जारी गरेका छन् ।

आज बेलुका ११ बजेदेखिको कर्फ्यु भोलि विहान ५ बजेसम्म कायम रहनेछ । त्यसपछि बेलुका ८ बजेदेखि पुन कर्फ्यु जारी हुनेछ ।

कर्फ्यु जारी भएको समयमा कुनै पनि व्यक्ति वा गाडी सार्वजनिक स्थलमा उपस्थीत हुन प्रतिबन्ध लगाइएको छ ।

तर यो आदेश प्रहरी अधिकारीहरु, शान्ति अधिकारीहरु, अग्नी नियन्त्रक, मेडिकल प्राविधिकहरु, अत्यावश्यक काममा जाने र फर्कनेहरु, होमलेसहरु र औषधी तथा उपचारका खोजीमा रहेकाहरुका सन्दर्भमा लागु हुनेछैन ।

कर्फ्यु आदेशसँगै न्युयोर्क सिटीमा सडकमा प्रहरी परिचालन पनि दोब्बर पारिने भएको छ । गएराती ४ हजार प्रहरी परिचालन गरिएकोमा सोमबार राती ८ हजार बनाइने भएको छ ।

प्रहरी हिराशतमा एकजना अश्वेत व्यक्तिको मृत्युको घटनालाई लिएर अमेरिकाभर प्रदर्शन भइरहेको छ । न्युयोर्कमा पनि प्रदर्शन हिंश्रक बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

आइतबार राती न्युयोर्कको बु्रकलिन क्षेत्रमा हिंश्रक प्रदर्शन भएको थियो । तल्लो म्यानहटन र डाउनटाउन बु्रकलिनमा प्रहरी परिचालन बढाइने भएको छ ।

गएराती भएका प्रदर्शनमा न्युयोर्कमा कम्तीमा ४ सयजनालाई पक्राउ गरिएको छ । मुठभेडमा केही प्रहरी अधिकारीहरु घाइते समेत भएका छन् । झण्डै दर्जन प्रहरीका गाडीमा क्षति पुर्याइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com