ब्राजिलबाट अमेरिका आउनमा लगाइएको यात्राप्रतिबन्ध आजदेखि लागु हुने


प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार

ब्राजिलबाट अमेरिका आउनमा ह्वाइट हाउसले लगाएको यात्राप्रतिबन्ध आज राती १२ बजेदेखि लागु हुने भएको छ । विगत १४ दिनको अवधिमा ब्राजिल गएका जो सुकैलाई पनि अमेरिका आउनमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसको फैलावट रोक्नका लागि यस्तो प्रतिबन्ध लगाइएको हो ।

यो प्रतिबन्ध न्युयोर्क समय अनुशार आज राती ११ बजेर ५९ मिनेट जानुभन्दा अगाडि जहाज चढिसकेकाहरुलाई लागु हुनेछैन । त्यस्तै अमेरिकी नागरिक, ग्रिनकार्डवाहक, अमेरिकी ग्रिनकार्डवाहक वा नागरिकका दम्पत्ति लगायतलाई पनि यो प्रतिबन्ध लागुहुनेछैन । यो प्रतिबन्ध कोरोनाका कारण अमेरिकाले युरोपका देशहरु र अन्य केही देशलाई लगाएको प्रतिबन्धसँग मिल्दोजुल्दो रहेको छ ।

ब्राजिलमा पछिल्लो हप्ताहरुमा कोरोना भाइरसको संक्रमण पुष्टी हुनेहरुको संख्या बढेपछि अमेरिकाले यस्तो प्रतिबन्ध लगाएको हो । ब्राजिलमा संक्रमितको संख्या झण्डै ३ लाख ७७ हजार नाघेको छ । ब्राजिलमा परीक्षण गरिएकाहरुमध्ये झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण ब्राजिलमा पुष्टी भएको छ ।

अमेरिकामा कोरोना संक्रमण पुष्टी हुनेहरुको संख्या १७ लाख नाघेको छ भने मृतकको संख्या १ लाख नाघेको छ । अहिलेसम्म विश्वमा संक्रमितको संख्या ५६ लाख नाघेको छ भने मृतकको संख्या झण्डै साढे ३ लाख पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com