विश्व स्वास्थ्य संगठनले रोक्यो कोरोना संक्रमितमा हाइड्रोक्सीक्लोरोक्वीनको क्लीनिकल परीक्षण
प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार
विश्व स्वास्थ्य संगठनले मलेरियाबिरुद्धको औषधी हाइड्रोक्सीक्लोरोक्वीनको कोभिड १९ बिरुद्धको क्लीनिकल परीक्षणमा रोक लगाएको छ । उक्त औषधीको कारण उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिमका कारण उक्त औषधीको कोभिड १९ बिरुद्धको क्लीनिकल परीक्षणमा अस्थायी रोक लगाइएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निकटका केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको भन्दै आफूले उक्त औषधी सेवन गरेको बताएका थिए । तर राष्ट्रपति ट्रम्पमा भने कोरोना संक्रमण पुष्टी भएको छैन । यो औषधीका कारण मृत्युदर बढेको भन्दै प्रयोगबारे प्रश्नचिन्ह उठ्दै आएको थियो ।

आइतबारमात्र राष्ट्रपति ट्रम्पले यो औषधी सेवनको २ हप्ते कोर्स पूरा गरेको बताएका थिए । तर विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरलले यौ औषधीको सेवनबाट गम्भिर साइड इफेक्स र मुटुमा समस्या आउनसक्ने बताएका छन् । यो औषधी मलेरिया र अटोइम्युन डिस्अर्डरबिरुद्ध प्रयोग गरिदै आएको छ ।
शुक्रबारमात्र बेलायती जर्नर द ल्यान्सेटमा यो औषधीको प्रयोगले कोभिड १९ का बिरामीलाई सहयोग नगर्ने बरु मृत्युदर बढ्ने भन्दै एउटा शोध प्रकाशित गरिएको थियो । लगत्तै विश्व स्वास्थ्य संगठनले यो औषधीको क्लीनिकल परीक्षणमा अस्थायी रोक लगाएको छ ।

थप डाटाहरु संकलनका लागि अझै एकदुई साता लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यदि मृत्युदर घटाएको खण्डमा, सुरक्षित भएको खण्डमा र अस्पतालमा भर्ना हुने अवधि घटाएको खण्डमा यो औषधीको प्रयोग खुल्ला गरिने र अहिले लगाएको रोक अस्थायी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






