नेपालसँग मात्र होइन, दक्षिण एसियाका ६ मुलुकसँग भारतको सीमा विवाद


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

दक्षिण एसियाको ठूलो मुलुक भारत आफ्ना सबै छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको छ । पछिल्लो समय कुनै पनि छिमेकीसँग उसको सुमधुर सम्बन्ध देखिएको छैन ।

भौगोलिक रुपमा विभिन्न ६ मुलुकसँग भारतको सीमा जोडिएको छ । विशाल देश भएकाले स्वाभाविक रुपमा भारतसँग सीमा जोडिएका मुलुक धेरै छन् । तर भुटानलाई छाड्ने हो भने कुनै पनि छिमेकी मुलुकसँग भारतको राम्रो सम्बन्ध छैन । खासगरी सबैजसो छिमेकी मुलुकसँग भारतको सीमा विवाद देखिन्छ ।

१. भारत/नेपाल सीमा विवाद
नेपालसँग कालापानी, लिपुलेक, लिम्पियाधुरामा पछिल्लो समय सीमा विवाद निकै चर्किएको छ । लामो समयदेखि सो क्षेत्रमा कब्जा जमाएको भारतले हालै सडक उद्घाटन गरेपछि विवाद चर्किएको हो । यस अतिरिक्त सुदूरपश्चिमकै कञ्चनपुरदेखि लिएर पूर्वमा इलामसम्म विभिन्न स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ ।

सुस्ता क्षेत्रमा लामो समयदेखि भारतले विवाद सिर्जना गर्दै आएको छ । त्यहाँको करिब १४५ वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गरेको छ । त्यस्तै इलाममा पनि लामो समयदेखि सीमा विवाद चल्दै आएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि भारतले विवाद सिर्जना गर्दै आएको छ । नेपालीको हातमा लालपुर्जा भएको जमिनमै भारतले आफ्नो दावी गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो क्षेत्रमा सीमा रक्षार्थ नेपाली युवक गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर सहिदसमेत भएका थिए । कालापानी, लिपुलेक, लिम्पियाधुराबाहेक नै भारतले नेपालका विभिन्न ६७ ठाउँमा सीमा अतिक्रमण गरेको सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ ।

२. भारत–चीन सीमा विवाद
भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो सीमा छ । भारतको जम्मु/;कश्मीर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेश राज्य चीनसँग सीमा जोडिएका छन् ।

भारत र चीनबीचको सीमालाई तीन खण्डमा विभाजित गरिएको छ । जम्मु, कश्मीरलाई पश्चिमी क्षेत्र भनिन्छ भने हिमाञ्चल प्रदेश र उत्तराखण्डलाई मध्य क्षेत्र र सिक्किम र अरुणाचल प्रदेशलाई पूर्व क्षेत्र भनिन्छ । यीमध्ये कयौं ठाउँमा दुई देशबीच सीमा विवाद रहँदै आएको छ । विवादकै कारण दशकौंदेखि भारत/चीनको सीमांकन पूर्ण रुपमा हुन सकेको छैन ।

भारतले पश्चिमी क्षेत्रको सीमामा चिनियाँ कब्जामा रहेको केही भूभागलाई आफ्नो दावी गर्दै आएको छ । पूर्व क्षेत्रमा अरुणाचल प्रदेशको केही भूभाग चीनले दावी गर्दै आएको छ । भारतले दावी गरेको क्षेत्रलाई चीनले अस्वीकार गर्ने र चीनले आफ्नो दावी गर्दै आएको क्षेत्रलाई भारतले अस्वीकार गर्ने गरेकै कारण दुई देशबीच सीमा निर्धारण हुन सकेको छैन ।

यस्तो अवस्थामा सीमा विवाद यथास्थितिमै रहने गरी दुई मुलुकबीच ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अर्थात ‘एलएसी’ का आधारमा विवादलाई तत्कालका लागि समाधानको प्रयास गरियो । यसअन्तर्गत पूर्ण रुपमा सीमा समाधानका लागि सहमति नहुन्जेलसम्म दुवै मुलुकले आ–आफ्नो नियन्त्रणमा रहेका भूभाग उपभोग गर्ने समझदारी बनेको हो ।

तर एलएसीकै बारेमा दुई मुलुकबीच पछिल्लो समय विवाद हुन थालेको छ । ग्लेशियर, हिउँको फाँट, पहाड र नदी भएका क्षेत्रमा एलएसीका बारेमा बारम्बार विवाद हुँदै आएको छ । परिणामस्वरुप दुई देशका सेनाबीच पटक पटक घुसपैठको आरोपमा झडपसमेत हुँदै आएको पाइन्छ । पेङ्गोङ्ग त्सो ताल, गालवन भञ्ज्याङ, डोकलाम, तवाङ्ग, नाथुला लगायतका क्षेत्रमा भारत र चीनबीच मुख्य रुपमा सीमा विवाद चर्किने गरेको छ ।

३. भारत/बंगलादेश सीमा विवाद
भारत र बंगलादेशबीच लामो समयदेखि जारी सीमा विवादलाई सन् २०१५ मा एक सम्झौतामार्फत टुङ्ग्याइएको छ । कतिपयले यसलाई सीमा विवाद समाधानको एउटा उदाहरणका रुपमा पनि लिने गर्दछन् । दुई देशको सीमा क्षेत्रमा रहेका करिब डेढसय बस्तीका बारेमा लामो समयदेखि विवाद रहँदै आएको थियो ।

विवादित क्षेत्रमा भारतले ५१ बस्ती र बंगलादेशले १११ बस्ती लिने गरी दुई देशबीच सीमा सम्झौता भएको थियो । यसका बाबजुद समय समयमा दुई देशबीच सीमा क्षेत्रमा तनाव हुने गरेको छ ।
सन् २०१९ को अक्टोबरमा दुई देशका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा विवाद बढेको थियो । सो क्रममा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

४. भारत/ पाकिस्तान सीमा विवाद
विभाजनकै समयदेखि भारत:पाकिस्तान सीमा विवाद चल्दै आएको छ । यी दुई मुलुकबीच सीमा कै कारण लामो समयदेखि द्वन्द्व चल्दै आएको छ ।

दुई देशबीच कश्मीरलाई लिएर सुरुदेखि नै विवाद हुँदै आएको छ । स्वतन्त्र भारत विभाजन भई भारत र पाकिस्तान गरी दुई देश बनाउँदा स्वतन्त्र रहेको कश्मीरलार्ई त्यहाँका राजासँगको सहमतिमा भारतले आफ्नो भूभागमा गाभ्ने निर्णय गरेपछि विवाद सुरु भएको हो । परिणामतः कश्मीरको केही भाग पाकिस्तानले र केही भाग भारतले लिए ।

भारतले लिएको कश्मीरलाई भारतको संविधानमै विशेष दर्जा दिइएको थियो । तर गत वर्ष भारतले आफ्नो अधिनमा रहेको कश्मीरलाई विशेष दर्जा खारेज गर्दै दुई प्रदेशमा विभाजन गरेपछि भने भारत र पाकिस्तानबीच थप तनावपूर्ण सम्बन्ध बनेको छ । पटक–पटक सीमा क्षेत्रमा दुई देशबीच आक्रमण हुने गरेको छ भने यी दुई देशले आपसमा सीमाकै कारण युद्धसमेत गरिसकेका छन् ।

५. भारत/ म्यानमार सीमा विवाद
भारत र म्यानमारबीच ब्रिटिश साम्राज्यदेखि नै सीमा विवाद चल्दै आएको छ । भारतको मणिपुरसँग जोडिएको केही क्षेत्रलाई लिएर भारत र म्यानमारबीच सीमा विवाद रहँदै आएको छ ।

६. भारत/भुटान सीमा विवाद
भारत र भुटानबीच प्रत्यक्षरुपमा सीमा विवाद छैन । तर भारतले चीनसँगको सीमा विवादलाई भुटानका माध्यमबाट पनि अघि सार्ने गरेको पाइन्छ ।
भुटान स्वतन्त्र राष्ट्र भए पनि धेरै विषयमा भारतसँग निर्भर छ । भुटान र चीनसँगको त्रिदेशीय विन्दुमा भारतले भुटानलाई पनि आफूसँगै अघि सार्ने गरेको छ । परिणामतः भुटान पनि यदाकदा भारतसँगै सीमा विवादमा तानिने गरेको छ ।

डोकलाम क्षेत्रमा चीनसँगको सीमा विवादमा भारतले भुटानलाई पनि आफ्नो पक्षमा तानेको आरोप लाग्दै आएको छ । सन् २०१७ मा सो क्षेत्रमा चीन र भारतका सुरक्षाकर्मीबीच लामो समय तनाव देखिएको थियो ।

त्यतिबेला चाइनिज एकेडेमी अफ सोशल साइन्सेजका अनुसन्धानकर्ता झाङ्ग योङ्गपानले चिनियाँ अखबार ग्लोबल टाइम्सलाई बताएअनुसार भारतले भुटानलाई अघि सारेर डोकलाम मुद्दामा चीनसँग विवाद बढाएको हो ।

डोकलाम क्षेत्र नजिकै चीनले आफ्नो भूमिमा सैन्य संरचनालाई मजबुत बनाउन थालेका कारण भारतले सोझै हस्तक्षेप गर्न नसकेर भुटानलाई अघि सारेर विवाद सिर्जना गरेको उनको भनाइ थियो । चीनले आफ्नो सैन्य संरचना विकसित गर्दा भारतले आफू असुरक्षित महसुस गरी विवादलाई नयाँ रुपमा सिर्जना गराएको उनले बताएका थिए ।-एजेन्सीको सहयोगमा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com