दोश्रो पटक १२ सय डलर दिने बिल हाउसबाट मुस्किलले पारित, अब सिनेटमा
प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार
अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रोपटक सबै करदाता र नन फाइलर्सहरुलाई १२ सय डलर दिने प्रस्तावसहित डेमोक्र्याटहरुले ल्याएको बिल आज अमेरिकी संसदको तल्लो सदनबाट मुस्किलले पारित भएको छ । बिलका पक्षमा २०८ मत खसेको थियो भने विपक्षमा १९९ मत खसेको थियो ।
ह्वाइट हाउसको भिटोपछि सबै रिपब्लिकनले बिलको विपक्षमा मतदान गरे भने १४ जना डेमोक्र्याटहरुसमेत विलको विपक्षमा थिए । अब बिल सिनेटमा त जानेछ तर रिपब्लिकन बहुमत रहेको सिनेटमा पारित हुने सम्भावना भने शुन्य प्राय छ । झण्डै ३ ट्रिलियन डलरको उक्त बिलमा रिपब्लिकनहरुको सहमति नभएकाले हाउस स्पीकर न्यान्सी पेलोसीले आफूहरुले टेबलमा प्रस्ताव राखेको र मोलतोल गर्न तयार रहेको बताएकी छिन् ।
अधिकांश रिपब्लिकनहरुले यो बिललाई सिनेटमा पुग्नुअगाडि नै मृतबिलको संज्ञा दिएका छन् । रिपब्लिकन नेताहरुले जस्तो राहत ल्याएपनि दुईपक्षीय सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।

सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले आफूले ह्वाइटहाउसँग सल्लाह गरिरहेको र अगाडि बढ्ने भएमा दुईदलीय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।१८ सय पृष्ठभन्दा लामो उक्त बिलमा काम गुमाएकाहरुलाई संघीय सरकारबाट जनवरीसम्म नै साप्ताहिक ६ सय डलर दिने उल्लेख छ ।
१ ट्रिलियन डलर राज्य र स्थानीय सरकारहरुलाई उपलब्ध गराउने, प्रतिव्यक्ति १२ सय र परिवारलाई ६ हजार डलरसम्म पाउनेगरी दोश्रो चरणको राहत रकम करदाताको खातामा पठाउने, अत्यावश्यक कामदारका लागि २०० बिलियन डलर उपलब्ध गराउने, ७५ बिलियन कोरोना भाइरसको टेस्टमा उपलब्ध गराउने लगायतका विषयहरु बिलमा समावेश गरिएको छ ।
त्यस्तै कोरोनाको महामारीका कारण काम गुमाएहरुले संघीय सरकारबाट जुलाई ३१ सम्ममात्र साप्ताहिक ६ सय डलर पाउने वर्तमान व्यवस्था रहेकोमा त्यसलाई जनवरीसम्म लम्बाउने पनि बिलमा उल्लेख छ । भाडा, मोर्गेट र युटिलिटीमा सहायताका लागि ७५ बिलियन छुट्याउने पनि बिलमा उल्लेख गरिएको छ ।






