Follow @khasokhasmag

कांग्रेसका नेताबाट प्रधानमन्त्री प्रचण्डप्रति चर्को असन्तुष्टि


प्रकाशित मिति : चैत्र २५, २०७३ शुक्रबार

नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति चर्को असन्तुष्टी ब्यक्त गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले दुई चरणमा चुनाव गर्ने प्रस्ताव गरेर सत्ता लम्ब्याउन चाहेको तथा सरकारमा कांग्रेसलाई भन्दा राप्रपालाई माथिल्लो वरियतामा राख्ने तयारी गरिरहेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टी जनाएका हुन् ।

नेपाली कांग्रेस संसदीय दल तथा पार्टीका केन्द्रीय कार्यसमितिको संसद् भवनको ल्होत्से हलमा बसेको संयुक्त बैठकमा नेताहरुले दुवै प्रस्ताव नमान्न पनि पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भन्दा कमल थापालाई माथिल्लो वरियतामा राख्ने तयारी प्रधानमन्त्रीले गरिरहेकोप्रति आपत्ति जनाउदै नेताहरुले प्रधानमन्त्री दाहालले कांग्रेसलाई पेल्न थालेकोप्रति गम्भीर हुन नेतृत्वसँग आग्रह पनि गरेका छन् ।

संसद भवनमा बसिरहेको केन्द्रिय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले दूई चरणमा चुनाव गर्ने प्रस्ताव चुनावै हुन नदिने षडयन्त्र पनि हुनसक्ने भन्दै कुनै पनि हालतमा स्वीकार्न नहुनेमा जोड दिएको पार्टी सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । अहिलेसम्म धारणा राख्ने सबैजसो नेताले स्थानीय चुनाव दुई चरणमा गर्ने प्रस्ताव चुनावै हुन नदिने र अर्कोतिर सत्ता लम्ब्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको खेल हुनसक्ने भन्दै आशंका ब्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

बैठकमा धारणा राखेका नेताहरुले सबैभन्दा ठूलो दलका रुपमा कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भूमिका खेल्नुपर्ने र संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव बारे पनि आधिकारिक धारणा ल्याउनुपर्नेमा जोड दिएका छन् ।  स्थानीय चुनावको घोषणापत्र बनाउदा कांग्रेसले स्थानीय विकास र जनजीविकाको विषयलाई केन्द्रमा राख्नुपर्ने नेताहरुले सुझाव दिएका छन् ।

पार्टीको महाधिवेशनमा उठेका एजेण्डा तथा संविधानसभा चुनावका बेलाको घोषणापत्रका आधारमा स्थानीय चुनावमा मुद्दा उठाउनुपर्ने र घोषणापत्र बनाउनुपर्नेमा कांग्रेस नेताहरुको जोड छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com