कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण सुरु
प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार
अमेरिकी फर्मास्युटिकल कम्पनी फिजरसँग मिलेर काम गरिरहेको जर्मनीको कम्पनीले कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु गरेको छ । फिजरले आउँदो साता अमेरिकामा पनि यो खोपको परीक्षण सुरु हुने बताएको छ ।
वालस्ट्रिट जर्नलमा प्रकाशित एक प्रतिवेदनले यो खोप यसै वर्षको अन्त्यसम्ममा करोडौँ डोज उत्पादन गर्न सकिने जनाएको छ । जर्मनीको मेन्ज सहरको बायोटेक कम्पनीले बिएनटी १६२ नाम दिइएको यो खोप मानिसमा परीक्षण गरेको छ ।
दुई चरणमा गरिने परीक्षणको पहिलो चरणमा सहभागीहरूलाई पहिलो डोज दिइसकेको कम्पनीले जनाएको छ । २३ अप्रिलबाट सुरु गरिएको परीक्षणमा सहभागी १२ जनालाई यो खोप दिइसकिएको छ ।
कम्पनीले १८ देखि ५५ वर्ष उमेर समूहका दुई सयजनामा विभिन्न क्षमताका खोप परीक्षण गर्ने जनाएको छ । खोप परीक्षणको कुनै पनि नतिजा अहिलेसम्म सार्वजनिक भने गरिएको छैन ।
(एजेन्सी)






