कोरोना भाइरसमा राजनीति नगर्न विश्व स्वास्थ्य संगठन प्रमुखको आग्रह
प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार
विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडानोम गेब्रेयससले कोरोना भाइरस महामारीविरुद्ध पूरा विश्व नै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लगातार आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य संगठन प्रमुखले यस्तो धारणा व्यक्त गरेका हुन् । महानिर्देशक गेब्रेयससले राष्ट्रपति ट्रम्पको आरोपको खण्डन गर्दै जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा आफूहरुले कसैलाई पनि भेदभाव नगरेको र सबै देशसँग समान सम्बन्धमा रहेको बताएका छन् ।
उनले कोरोना भाइरसमा राजनीति गर्न नहुने पनि बताए। ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको कोष रोक्ने बताएका थिए । संगठन चीनकेन्द्रित भएको र भाइरस नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको आरोप ट्रम्पले लगाएका छन् । संगठनको कुल बजेटको करिब १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको छ ।






