कोरोना संक्रमणका कारण विश्व प्रख्यात वैज्ञानिकको मृत्यु


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

कोरोना भाइरसको संक्रमणका कारण दक्षिण अफ्रिकाकी ख्यातिप्राप्त वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । उनको दरबान अस्पतालमा मंगलबार मृत्यु भएको हो । उनी ६४ वर्षकी थिइन् ।

रामजी दक्षिण अफ्रिकी महिलाहरूले सामना गर्नुपर्ने जीवनशैली, परिस्थिति र सम्भावित जोखिमबारे अध्ययन गर्थिन् । एचआइभीको प्रभावकारी खोप पत्ता लगाउने र एचआइभी रोकथाममा गरेको प्रयासका कारण उनी प्रख्यात छिन् ।

उनी हालै बेलायत भ्रमणबाट दक्षिण अफ्रिका फर्केकी थिइन् । भाइरसको कुनै लक्षण नदेखिए पनि उनी अस्पताल गएकी थिइन्, त्यहाँ उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको थियो ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ भने एक हजार तीन सय ८० जना संक्रमित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com