गुगलको रिपोर्ट : कोरोनाबाट बच्न अमेरिकाको तुलनामा नेपालमा घरबाहिर निस्कने क्रम कम


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

विश्वलाई कोरोना भाइरस अर्थत् कोभिड-१९ ले सताइरहेको बेला इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरेको छ ।

गुगलले सार्वजानिक गरेको रिपोर्टका अनुसार ‘सामाजिक दूरी’मा संयुक्त राज्य अमेरिकाभन्दा नेपाल अगाडि देखिएको छ । नेपालमा रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, संग्रहालय, पुस्तकालय र फिल्म हललगायत मान्छेकाे चहलपहल ७८ प्रतिशत घटेको छ ।

बजार, खाद्य गोदामहरु, विशेष खाद्य पसल, औषधि पसल र फार्मेसीमा ६९ प्रतिशले मान्छेकाे चहलपहल घटेकाे छ । त्यस्तै राष्ट्रिय निकुञ्ज, प्लाजा, सार्वजनिक बगैंचालगायत क्षेत्रमा नेपालमा ५५ प्रतिशले मान्छेकाे चहलपहल घटेकाे गुगलले जनाएकाे छ ।

नेपालमा सार्वजनिक यातायात क्षेत्रमा मानिसको भिडभाड ७४ प्रतिशत कम भएकाे र काम गर्ने ठाउँमा ७२ प्रतिशतले मान्छेकाे चहलपहल घटेकाे गुगलले जनाएकाे छ । तर निवासभित्र मानिसको सहभागिता २८ प्रतिशत बढेको छ ।

अमेरिकामा भने रेस्टुरेन्ट, क्याफे, सपिङ सेन्टर, म्युजियम, संग्रहालय, पुस्तकालय र फिल्म हललगायतमा मान्छेकाे चहलपहल ४७ प्रतिशत मात्रैले घटेको छ । बजार, खाद्य गोदामहरु, किसानहरु पसलहरू, औषधि पसल र फार्मेसीमा २२ प्रतिशले मात्रै मान्छेकाे चहलपहल घटेकाे गुगले जनाएकाे छ ।

त्यस्तै अमेरिकामा राष्ट्रिय निकुञ्ज, प्लाजा, सार्वजनिक बगैंचालगायत क्षेत्रमा १९ प्रतिशले मान्छेकाे चहलपहल घटेकाे छ । अमेरिकामा सार्वजनिक यातायात क्षेत्रमा ५१ प्रतिशत र काम गर्ने ठाउँमा ३८ प्रतिशतले मान्छेकाे चहलपहल घटेकाे गुगल रिपोर्टले देखाएकाे छ । निवासमा मानिसको सहभागिता अमेरिकामा १२ प्रतिशत मात्र बढेको छ ।

कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न सुझाव दिएको थियो ।

डब्ल्यूएचओले नै काेराेनाकाे महामरीबाट बच्न सबैभन्दा प्रभावकारी तरिका भनेकै सामाजिक दूरी कायम राख्नु नै हो भनेकाे थियाे । साेही अनुसार नेपालले अहिले लकडाउन गरेकाे छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि सरकारले देशभर लागू हुनेगरी चैत २५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको हाे ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु पाँच जनाको भने उपचार भइरहेको छ । उनीहरूको अवस्था सामन्य नै रहेको छ ।

अमेरिकामा भने कोरोना भाइरसको ग्राफ झन झन उकालो लाग्दै गएको छ । शुक्रबार एकै दिन अमेरिकामा १३ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

अहिले अमेरिकामा कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९६५ पुगेको वल्र्डोमिटर्सले जनाएको छ भने ७ हजार ३९१ जनाको ज्यान गएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com