अमेरीकी राष्ट्रपति ट्रम्पको दोस्रो पटक कोरोना परीक्षण


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना सङ्क्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको कोरोनाभाइरस परीक्षण गरिएको र त्यसको नतिजा नकारात्मक आएको जानकारी दिनुभयो ।

उहाँले ट्रम्पको कोरोना परीक्षणका लागि नयाँ, तीव्र परीक्षण प्रविधि प्रयोग गरिएको बताउनुभयो । फिजिसियन कोन्लेले राष्ट्रपति ट्रम्पको नमुना लिन एक मिनेट लागेको र १५ मिनेटभित्रै नतिजा आएको पनि जानकारी दिनुभयो ।

कोरोना भाइरस कार्यदलको बैठकपछि बोल्दै राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संघर्षरत नर्सिङ होमका लागि नयाँ निर्देशिका जारी गरिएको पनि बताउनुभयो । यसअघि जारी गरिएको निर्देशिकामा नर्सिङ होमहरुलाई अरु बिरामीको उपचारलाई सीमित गर्न आदेश दिइएको थियो ।

संयुक्तराज्य अमेरिका अहिले कोरोनाभाइरसको संक्रमणका दृष्टिले सर्वाधिक खतरापूर्ण अवस्थामा पुगेको छ । अमेरिकामा छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com