कोरोनाको सम्भावित उपचार पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

क्यालिफोर्नियाका वैज्ञानिकहरूको एक टिमले कोभिड– १९ को सम्भावित उपचार पत्ता लगाएको बताएका छन् । डा. ज्याकोव ग्लानभिलको एक टिमले यस्तो दाबी गरेको हो ।

डा. ज्याकोव जनवरीमा नेटफ्क्सिमा सार्वजनिक गरिएको कोरोना भाइरससम्बन्धी अमेरिकी वृत्तचित्र श्रृङ्खला ‘प्यान्डेमिक’ मा पनि थिए । उनीहरूको टिम सान फ्रान्सिस्कोमा कोरोना भाइरसको उपचार पत्ता लगाउन काम गरिरहेको छ ।

सोमबार उनीहरूले एक सम्भावित उपचार पत्ता लागेको घोषणा गरे । डा. ग्लानभिलले भने, ‘हामी यो भन्न पाउँदा निकै खुसी छौँ कि हामीले इन्जिनियरिङ पूरा गरिसकेका छौँ, केही शक्तिशाली एन्टिबडीहरू छन्, जुन भाइरसविरुद्ध प्रभावकारी हुन सक्छन् ।’

उनले एक अन्तर्वार्तामा भने, ‘हामीले सन् २००२ का पाँच एन्टिबडीहरू लियौँ, जुन सार्सलाई पराजित गर्न सक्षम थिए । अहिले प्रविधिको सहयोगले सार्स नियन्त्रण गरेका त्यही एन्टिबडीहरूले कसरी कोभिड– १९ मा काम गर्छ भनेर हामीले अध्ययन गऱ्यौं ।’

ती वैज्ञानिकहरूले पाँचवटा एन्टिबडीमध्ये कुनले राम्रो काम गर्छ भनेर प्रयोग गरेका थिए । पाँचवटै एन्डिबडीले प्रभावकारी काम गरे र अब अन्तिम उपचारको लागि तयार बनाउने प्रक्रियामा रहेको ती वैज्ञानिकहरूले बताएका छन् ।

ती एन्डिबडीहरू सुरक्षा जाँच र वर्गीकरणका लागि सेनाको प्रयोगशाला र चार्ल्स रिभर प्रयोगशालामा पठाएका छन् । यसको ठूलो मात्रामा उत्पादन गर्न सहयोग पुगोस् भनेर दुईवटा फरकफरक कम्पनीसँग साझेदारी गरेर काम अगाडि बढाएका छन् । अबको केही महिनाभित्र मानिसमा परीक्षण गर्ने योजनामा रहेको वैज्ञानिकहरूले जनाएका छन् ।

उनीहरूले यसबारे अमेरिकी सरकार र युरोपेली आयोगसँग पनि कुरा गरिरहेको बताएका छन् । यसबाट नतिजा राम्रो र उपयुक्त आयो भने सेप्टेम्बरदेखि प्रयोगमा ल्याउन सकिने डा. ज्याकोवले एक अन्तर्वार्तामा बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com