चीनबाट मेडिकल सामाग्री लिएर पहिलाे विमान अमेरिका पुग्यो 


प्रकाशित मिति : चैत्र १७, २०७६ सोमबार

चीनको सांघाई सहरबाट काेराेना उपचारमा चाहिने मेडिकल सामाग्रीसहितको पहिलो विमान आइतबार अमेरिकाको न्युयोर्क सहर पुगेको  संचार माध्यमले जनाएका छन् ।

संघीय आपतकालीन व्यवस्थापन विभागका प्रवक्ता लिजी लिट्जोले उक्त विमान १२ मिलियन पञ्जा, १ लाख ३० हजार एन नाइन्टी फाइभ मास्क, १७ लाख सर्जिकल मास्क, ५० हजार मेडिकल गाउन, १ लाख ३० हजार ह्यान्ड स्यानिटाइजर र ३६ हजार थर्मोमिटरसहित अमेरिका पुगेको बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

ती सामाग्री न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यमा वितरण गरिनेछ र बाँकी सामाग्रीहरु लिएर विमान सोमबार सिकागो र मंगलबार ओहायोमा पुग्नेछ । त्यहाँबाट निजी क्षेत्रका वितरण नेटवर्कको प्रयोग गरेर अन्य राज्यमा पनि पठाइने लिट्जोले बताइन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म अमेरिकामा कोभिड– १९ बाट संक्रमित मानिसको संख्या १ लाख ४२ हजार १ सय ६ पुगेको छ । २ हजार ४ सय ७९ को मृत्यु भएको छ भने २ हजार ६ सय ८६ जना निको भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com