कोरोनाविरुद्धको लडाइँ : गम्भीर मोडमा भारत


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

संक्रमितको संख्या बढेसँगै कोरोना (कोभिड–१९) भाइरसविरुद्धको लडाइँमा भारत एउटा गम्भीर मोडमा छ । संक्रमणविरुद्धको लडाइँमा स्वास्थ्यकर्मी हिम्मतसाथ अग्रमोर्चामा उभिएका छन् । केहीले त भारतले ‘जित्नै नसक्ने युद्धमा होमिनुपरेको’ टिप्पणीसमेत गरेका छन् ।

कोरोना नियन्त्रण गर्न अझै पनि भारतसँग समय रहेको भन्दै त्यसको सदुपयोग गर्न केही विज्ञले सुझाब दिएका छन् । वेलैमा नियन्त्रणमा लिन नसके लाखौँ भारतीयको जीवन जोखिममा रहने उनीहरूको चेतावनी छ ।

अमेरिका र इटालीमा जस्तै महमारीको स्वरूप लिएमा त्यसको सामना गर्न देशको स्वास्थ्य प्रणाली असमर्थ हुने भन्दै धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । देशको कुल जनसंख्याको १० प्रतिशत मात्र संक्रमित भएमा १३ करोड जनसंख्या अस्पताल पुग्नुपर्ने र त्यसका लागि राज्यले निकै तयारी गर्नुपर्ने विज्ञहरूले अनुमान गरेका छन् ।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टका अनुसार देशमा हरेक एक हजार मानिसका लागि केवल ० दशमलव ५ प्रतिशत अस्पताल बेड छ, जुन संसारमै सबैभन्दा न्यून अनुपात हो । तसर्थ भारतले सामाजिक दूरी कायम गरेर तथा मुख्य सहर र बजार बन्द गरेर यो महामारीलाई नियन्त्रण गर्ने सोचिरहेको छ ।

तर, यो कति सफल हुन्छ भन्ने विषय सर्वसाधारणले कत्तिको पालना गर्छन् भन्नेमा पनि निर्भर हुनेछ । चिकित्सक, नर्स, औषधि व्यवसायी, प्रहरी, पाइलट, रेलका कर्मचारी र सरसफाइमा संलग्न व्यक्तिले कोरोनाविरुद्धको महाअभियानमा हरेक दिन आफ्नातर्फबाट महत्वपूर्ण योगदान दिँदै आएका छन् । र, मेडिकल कर्मचारी यस प्रयत्नको सबैभन्दा अग्रमोर्चामा छन् ।

पश्चिमी सहर अहमदाबादको सरकारी एक अस्पतालकी डा. तरिनी जोहरीका अनुसार कोरोना संकट समाधान गर्न मेडिकल क्षेत्र तयार छैन । उनी भन्छिन्, ‘कोरोना भाइरस वार्डमा काम गर्ने चिकित्सक तथा नर्ससँग सुरक्षित उपकरण छैन । त्यस्तै, हामी सबैभन्दा बढी जोखिममा छौँ भन्ने थाहा हुँदाहँुदै पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । त्यसैले अधिकांश चिकित्सक जोखिममा छन् । हामीलाई सुरक्षित सामग्री आवश्यक पर्छ,’ उनले भनिन् ।

उत्तरी सहर लखनउस्थित एक अस्पतालमा कार्यरत चिकित्सक प्रिया श्रीवास्तव भन्छिन्, ‘वास्तवमा सरकारले तदारुकता देखाउने समय नै यही हो ।’ डा. श्रीवास्तव अगाडि भन्छिन्, ‘हामीले तत्काल अस्थायी अस्पताल बनाउनुपर्छ । समुदायमा कुनै पनि वेला फैलन सक्ने जोखिम भएकाले एकपछि अर्को अस्पताल बनाउन ढिलाइ गर्न हुन्न । यसका लागि सबै तयार हुनुपर्छ ।’

अहिले फ्लुको मौसमले अवस्थालाई झनै विकराल बनाएको उनको भनाइ छ । उनी अगाडि थप्छिन्, ‘जताततै त्रास छ । सामान्य रुघाखोकीका बिरामी पनि कोभिड–१९ को आशंकामा अस्पताल धाउन थालेका छन् । तसर्थ, कोरोना भाइरसको लक्षणबारे सर्वसाधारणलाई सुसूचित गर्न आवश्यक छ ।’

त्यस्तै, दिल्लीका विभिन्न अस्पतालमा ३० वर्षदेखि सेवा गर्दै आएका डा. भिके बाट्रा भन्छन्, ‘यस्तो वेला चिकित्सकले आफ्नातर्फबाट सक्दो सहयोग गर्नुपर्छ । ‘मानिसहरूलाई पनि मेरो एउटा अनुरोधसहितको सन्देश छ– केवल घरमै बस्नुहोस् । केही हप्ता घरमै रहनुहोस्, ताकि महामारीविरुद्ध लड्न हामीले अवसर पाउनेछौँ ।’
उनी अगाडि भन्छन्, ‘बिरामीलाई निरन्तर उपचार गर्न हामीमध्ये केहीजना परिवारबाट केही दिन अलग बस्नुपर्छ । यसले केही दबाब दिए पनि अर्को विकल्प छैन । यसअघि कहिल्यै अनुमान नगरेको तथा नदेखेको शत्रुसँग हामी लड्दै छौँ ।’

उनी भन्छन्, ‘हामीले सोचेअनुसार व्यक्तिगत सुरक्षा औजार पाउन सकेका छैनौँ । हामी कोरोनाविरुद्ध लड्न अग्रमोर्चामा उभिएका सिपाही हौँ । तसर्थ व्यक्तिगत सुरक्षाका उपकरणविना कसरी युद्ध जित्न सकिन्छ ?’

कोरोना परीक्षणका लागि भारतले निजी ल्याबलाई अनुमति दिएको छ र ल्याबका केही प्राविधिकलाई तालिम प्रदान गरेको छ । तीमध्येका अमरदिम चौधरी पनि एक हुन् । उनी भन्छन्, परीक्षणका लागि नमुना संकलन गर्न म मानिसहरूको घरघर जाने गर्छु । हाम्रो रक्षाका लागि सावधानी अपनाउँदै आएका छौँ ।

यद्यपि, कोरोना भाइरस भिन्नै खालको छ । मलाई भित्रभित्रै डर लागेको छ । तर पनि कर्तव्यबाट भाग्न त मिल्दैन नि ।’ अस्पतालभित्र चिकित्सक कोरोनाविरुद्धको युद्धमा लडेका छन् भने लकडाउन कार्यान्वयन गर्न बाहिर प्रहरी खटिएको छ । भारतमा कोरोना संक्रमितको संख्या नौ सय आठ पुगेको छ । संक्रमणबाट शनिबारसम्म २० जनाको मृत्यु भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com