आफन्तविना अन्तिम संस्कार !


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

कुनै व्यक्तिको निधन हुँदा अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ परिवार, आफन्त, इष्टमित्र तथा अन्य व्यक्तिहरू उपस्थित हुने गर्छन् । यसलाई मृतकको सम्मान गर्न उपस्थित हुनु भन्ने बुझिन्छ । धेरैजसो व्यक्ति मृतकको अन्तिमपटक अनुहार हेर्न पनि श्रद्धाञ्जली दिन पुग्छन् । तर, कोरोना भाइरस संक्रमणका कारण इटालीमा अहिले मृतकलाई श्रद्धाञ्जली नै नदिई अन्तिम संस्कार गर्ने गरिएको छ । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तले समेत अनुहार हेर्न नपाई राज्य वा अस्पतालले अन्तिम संस्कार गर्ने गरेका छन् । मृतकलाई दिइने श्रद्धाञ्जली राज्यले खोसेको आरोप आफन्तले लगाएका छन् । आफन्तको अन्तिमपटक अनुहार नै देख्न नपाउँदा झन् पीडा थपिएको परिवारको गुनासो छ ।

अस्पताल र चर्चमा सन्नाटा
इटालीमा कोरोना भाइरस (कोभिड–१९) बाट धेरै व्यक्तिको निधन भएको छ । गत महिनासम्म चीनमा कोरोना भाइरसबाट धेरै व्यक्तिको निधन भएको रेकर्ड दर्ता थियो । समयमै संयम र सावधानी नअपनाउँदा इटाली विश्वमै कोरोनाबाट धेरै व्यक्तिको निधन हुने देशका रूपमा परिचित भएको छ । जन्मपछिको मृत्यु ध्रुवसत्य नै हो । तर, मृत्युको समयमा आफन्तजन सँगै नहुनु झनै दुःखको क्षण बनिरहेको छ, इटालीमा । प्रशासनले कोभिड–१९ का कारण निधन हुने व्यक्तिको आसपास परिवारका सदस्य र मित्रजनसमेत हुन नहुने निर्देशन जारी गरेको छ ।

अक्सर इटालीमा मृतकको अन्तिम संस्कार हुँदा उसको मन पर्ने रंगको लुगा लगाइदिने चलन छ । त्यो चलनविनै कोभिड–१९ बाट निधन भएका व्यक्तिको अन्तिम संस्कार गरिएको छ । यद्यपि, मृतकको शरीरमा संक्रमणका कीटाणु रहन नहुने भनिन्छ । तर, ती व्यक्तिले अन्तिम समयसम्म लगाएको लुगामै कीटाणु हुन सक्ने र यसले संक्रमण फैलाउने मिलानका स्वास्थ्यकर्मीले बताएका छन् । यसैकारण इटालीका अस्पतालले भाइरसबाट निधन भएका व्यक्तिलाई सीधै गाड्ने गरेका छन् । निधन भएको व्यक्तिको पार्थिव शरीर तत्कालै सिल्ड गरिन्छ ।

अस्पतालकै गाउनमा अन्तिम संस्कार

एन्ड्रिया सेरोटा मिलानको एक अन्तिम संस्कार गर्ने संस्थामा कार्यरत छन् । पछिल्लो एक महिनामा सेरोटाले यस्ता सयौँ भावुक क्षण नजिकबाट आत्मसात् गर्ने अवसर पाए । कोरोना भाइरसले एकपटक नभएर दुईपटक आफन्तलाई दुःखी बनाउने गरेको उनी बताउँछन् । ‘कोरोनाले तपाईं एकपटक होइन, दुईपटक दुःखी बन्नुपर्छ,’ भावुक हुँदै सेरोटाले भने, ‘सुरुमा तपाईंका आफन्त कोरोनाले संक्रमित हुँदा पीडा दिन्छ, यो रोग लागेपछि कसैलाई पनि नजिक जान दिइँदैन, यो समय परिवारका लागि निकै मुस्किल हुन्छ, जब मृत्युको खबर आउँछ, त्यतिखेर त्यसलाई स्विकार्न झनै मुस्किल हुने गर्छ ।

यसैगरी क्रेमोनामा अन्तिम संस्कार गर्ने केस्ट्रोपाले भाइरसबाट निधन भएको व्यक्तिका आफन्तले आफूलाई कैयौँपटक ‘कफिन’ खोल्न आग्रह गरेको अनुभव सुनाए । ‘धेरैजसो परिवारले अन्तिम समयमा आफन्तको अनुहार हेर्न कफिन खोल्न आग्रह गरेका छन्, तर हामीलाई यसको अनुमति छैन,’ उनले भने । परिवारजनले निधन भएका व्यक्तिको मन पर्ने लुगादेखि खानेकुरासम्म कफिनसँगै राख्न आग्रह गरेको केस्ट्रोपाले सुनाए ।

‘अक्सर पार्थिव शरीरमा नयाँ लुगा राख्नेदेखि मन पर्ने खानेकुरा राख्न आग्रह गरिन्छ, तर त्यो सबै गर्न प्रतिबन्ध भएको सुनाउँछु, दुःखमा परेका आफन्तलाई यस्तो भनिरहँदा मेरो मनै कटक्क हुन्छ,’ केस्ट्रोपाले भने, ‘यहाँसम्म कि भाइरस सर्छ भनी अस्पतालमा परिवारले पार्थिव शरीरमा ‘गाउन’ ओढाउनसमेत पाउँदैन ।’

केस्ट्रोपा भावुक हुँदै भन्छन्, ‘हामीले अस्पतालकै गाउनमा ती व्यक्तिको अन्तिम संस्कार गर्नुपर्छ, यस्तो छ अहिले क्रेमोनामा कोरोना भाइरसबाट निधन हुने व्यक्तिको अन्तिम संस्कार गर्ने चलन ।’

अहिलेसम्म एक वा दुईजना निधन भएका व्यक्तिको पार्थिव शरीरमा परिवारले दिएको लुगा राखिएको उनले बताए । ‘एक वा दुई व्यक्तिको पार्थिव शरीरमा परिवारका सदस्यले ल्याएको लुगा वा कपडा राखेका छौँ, त्योबाहेक अस्पतालकै गाउनमा अन्तिम संस्कार भएका छन्,’ उनी भन्छन् ।

आफ्नै नातेदार र पादरी

इटालीमा कोरोना भाइरसको अवस्था यस्तो भयावह छ कि त्यहाँ निधन भएको व्यक्तिको अन्तिम संस्कारमा पादरीसमेत उपस्थित हुन सकेका छैनन् । भाइरसबाट निधन भएका व्यक्तिलाई चर्चसम्म पु¥याएर विधिअनुसार मृत्यु संस्कार गर्नसमेत मुस्किल भइरहेको छ । कोभिड–१९ बाट निधन भएका लगभग ९० प्रतिशत व्यक्तिको अन्तिम संस्कार रीतिरिवाजविनै भइरहेको छ । यस्तो अवस्थामा अन्डरटेकर (गाड्ने व्यक्ति) नै त्यस्ता सबै काम गर्न बाध्य छन् ।

इटालीमा अन्डरटेकर विभिन्न रूपमा भेट्टिन्छन् । कोही नभएको अवस्थामा अन्डरटेकर, चर्चका एक पादरी, परिवारका सदस्य वा साथी भएर निधन भएका व्यक्तिको अन्तिम संस्कार गर्छन् । युभेन्ट्सका क्रिस्टोफरले आफूले पादरीका रूपमा समेत काम गरी अन्तिम संस्कार गरेको सुनाए । ‘यद्यपि मेरो काम कफिनभित्रको पार्थिव शरीरलाई गाड्ने मात्र हो, तर कतिपय अवस्थामा मैले नै पादरीको काम गरी मृतकको चिरशान्तिको कामना गरेको छु ।’

अन्डरटेकरले यस्तो काम आफूखुसी पक्कै गरेका होइनन् । उनीहरूलाई पनि यस्तो गर्न रहर कहाँ लाग्छ र ? अहिले जति पनि कोरोना भाइरसबाट इटालीमा निधन भएका छन्, उनीहरूका परिवार सदस्य पनि क्वारेन्टाइनमै छन् । उनीहरू घरबाहिर आउन नसक्ने भएकाले अन्डरटेकर नै मृतकको अन्तिम संस्कार गर्न बाध्य छन् ।
‘मृतकको परिवारका कोही सदस्य घरमा क्वारेन्टाइनमै बसेका छन्, कोही संक्रमित भएर अस्पतालमा छन्,’ मिलानका अन्डरटेकर सेरोटाले भने, ‘यसैले यो अवस्थामा हामी मृतकका परिवार, साथी तथा पादरी हौँ, अन्तिम संस्कारमा परिवारको जिम्मवारीपूर्ण भूमिका हामीहरूले नियमपूर्वक पूरा गरेका छौँ ।’

कफिनको तस्बिर परिवारलाई पठाउने

कोभिड–१९ बाट निधन भएको व्यक्तिको अन्तिम संस्कार गर्न अस्पताल वा प्रशासनले कफिन (लास राखिएको बाकस) मा पार्थिव शरीरसहितको फोटो घरमा पठाउने गर्छ । यसको अर्थ हो– यो व्यक्तिको निधन भइसक्यो, अब अन्तिम संस्कारका लागि लगिँदै छ । क्वारेन्टाइनमा बसेको परिवारले त्यही तस्बिरकै आधारमा अन्तिम संस्कार गर्न अनुमति दिने गर्छ ।

‘हामीले कोरोना भाइरसबाट निधन भएको व्यक्तिको सीधै अन्तिम संस्कार गर्दैनौँ, पार्थिव शरीरलाई कफिनमा राख्छौँ र त्यसपछि तस्बिर परिवारलाई पठाउँछौँ, त्यहाँबाट अनुमति आएपछि अस्पतालबाट कफिन गाड्छौँ,’ युभेन्ट्सका क्रिस्टोफरले भने, ‘योबाहेक हामीसँग अरू विकल्प नै छैन ।’ यता, मिलानका सेरोटाले दुःखको समयमा पनि आफन्तको अन्तिम अनुहार हेर्न नपाउनु सबैभन्दा पीडादायक क्षण भएको बताए ।

‘मुस्किल समयमा उनीहरूलाई सान्त्वना पनि दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘गाड्ने अनुमति पाउँदा मृतकको मन पर्ने लिस्ट पनि साथसाथै आउँछ, महिलाको निधन हुँदा मेकअप गरी अन्तिम संस्कार गर्नु भनिएको हुन्छ, यसैगरी पुरुषको निधनमा मन पर्ने सुट राख्नु भनिन्छ, तर हामी परिवारको त्यो अन्तिम इच्छा पनि पूरा गर्न सक्दैनौँ, किनभने हामी त्यतिवेला नियममा बाँधिएका हुन्छौँ ।’

अन्तिम संस्कार निकाल्न प्रतिबन्ध

कोरोना भाइरस अनियन्त्रित भएकाले इटाली सरकारले आपत्कालीन राष्ट्रिय कानुन लगाएको छ । यो नियम सबैतिर लागू छ । यसमा अन्तिम संस्कारमा परिवारलाई सहभागी हुनसमेत प्रतिबन्ध लगाइएको छ । यसै नियमले गर्दा नै सेरोटाले एउटा लास गाडिरहँदा आसपासमा कोही पनि उभिएको पाउँदैनन् । ‘शव गाड्ने समयमा म मात्र हुन्छु, त्यहाँ अरू कोही हुँदैन किनभने सरकारले नै प्रतिबन्ध लगाएको छ,’ सेरोटाले आफ्नो अनुभव सुनाए, ‘त्यहाँ एउटा शब्द पनि निस्किँदैन, केवल सन्नाटा मात्र छाइरहन्छ ।’

तर, उनले सकेसम्म चर्चमा कफिन लगेर मृतकको चिरशान्तिका लागि पादरीसँग कामना गर्ने गरेको बताए । दिन–प्रतिदिन सयौँको संख्यामा कोरोना भाइरसले व्यक्तिको निधन भइरहँदा उनलाई भ्याइ–नभ्याई छ । उनी भन्छन्, ‘एउटा पार्थिव शरीर गाडेर आएको केही क्षणमै अर्को गाड्नु लानुपर्छ ।’

गाड्ने स्थानको अभावसँगै इटालीका लगभग सबै अस्पताल कफिन नै कफिनले भरिएका छन् । मुर्दाघरमा कफिन राख्ने स्थान नहुँदा बाहिर राखिएका छन् । अहिलेसम्म इटालीमा कोभिड–१९ ले ६ हजारभन्दा बढीको निधन भएको छ । उत्तर इटालीमा रहेका अधिकांश अस्पताल लासैलासले भरिएका छन् । लास गाड्ने व्यक्ति सेरोटा दुःखको समयमा ठट्यौली गर्दै भन्छन्, ‘अहिले यहाँका अस्पताल लासहरूको सुपर मार्केट बनेका छन् । अब आफैं अनुमान लगाउनु, कोरोना भाइरसले कतिको ज्यान गयो ?’

मसिमोमनका केस्ट्रोपाले क्रेमोनाको अस्पताल एक किसिमले लासैलासको गोदामजस्तो भएको सुनाए । ‘तपाईं क्रेमोनाको अस्पतालमा जानुभयो भने लासैलासको गोदामजस्तो देख्नुहुन्छ,’ केस्ट्रोपाले भने, ‘एकपछि अर्को गरी कफिनका बाकस आइरहेका छन् ।’ उनका अनुसार क्रेमोनामा अहिले लास गाड्ने स्थानको नै कमी भएको छ ।

‘बर्गेमोमा अहिले लास गाड्ने ठाउँ नै छैन, लास गाड्नका लागि सैनिकको सहयोग मागेका छौँ,’ केस्ट्रोपाले भने, ‘सहर नै लासले भरिएकोजस्तो लाग्छ ।’ अहिले लास गाड्ने व्यक्तिलाई सम्मानको नजरले हेरिएको केस्ट्रोपाले अनुभव गरेका छन् । ‘पहिला हामीलाई लास गाड्ने व्यक्ति भनेर हेयका दृष्टि हेर्ने गर्थे, अहिले समाजमा हामीलाई सम्मान गरिएको पायौँ,’ उनले भने ।

केस्ट्रोपा, सेरोटाजस्ता व्यक्ति करिब ३० वर्षदेखि निरन्तर रूपमा यही काम गर्दै आएका छन् । उनीहरू जीवनमा अहिलेको जस्तो अवस्था पहिले कहिल्यै नआएको बताउँछन् । ‘म यो क्षेत्रमा लागेको ३० वर्ष भयो,’ सेरोटाले भने, ‘अहिले सम्मान पाएका छौँ,’ उनले भने, ‘यस्तो अवस्था कुनै पनि देशले भोग्न नपरोस् भनी भगवान्सँग दैनिक कामना गरिरहेको छु ।’

बिबिसीको सहयोगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com