इटालीमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ९ हजार नाघ्याे, २४ घण्टामै ९ सय बढीकाे मृत्यु


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड-१९ बाट इटालीमा मृत्यु हुनेको सङ्ख्या ९ हजार नाघेको छ ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा मृत्यु हुनेकाे संख्या ९ हजार १३४ पुगेको छ । यो संख्या काेभिड-१९ काे उद्गमस्थल चीनमा भन्दा झण्डै तेब्बर बढी हो । चीनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म ३ हजार २९५ जनाले ज्यान गुमाएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोनाबाट अहिलेसम्म ८६ हजार ४९८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १० हजार ९५० जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ६६ हजार ४१४ जनामा कोरोना सक्रिय रहेकाे छ । तीमध्ये ३ हजार ७३२ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामै इटालीमा ९१९ जनाको मृत्यु भएको छ भने ५ हजार ९०९ जना नयाँ संक्रमित भेटिएका छन् ।

बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएकाे छैन । इटालीमा एक सातामै ४ हजार ३१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । इटली किन यति धेरै प्रभावित भयो भनेर अहिलेसम्म पत्ता लगाउन सकिएकाे छैन ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका करिब २ सय मुलुकमा फैलिसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com