हरेक करदातालाई १२ सय डलर दिने २ ट्रिलियन डलरको प्याकेज दुबै सदनबाट पारित


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेज अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पनि पारित भएको छ । अब यो हस्ताक्षरका लागि राष्ट्रपति समक्ष गएको छ ।

बुधबार मध्यरात अगाडि उक्त प्याकेज सिनेटबाट पारित भएको थियो । मतदानमा उपस्थीत सबै ९६ सिनेटरहरुले बिलको पक्षमा मतदान गरे भने विपक्षमा एउटा मत पनि खसेन । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालिन राहत प्याकेज हो ।

२ ट्रिलियन अमेरिकी डलरको यो प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

बिलमा ५ सय बिलियन ऋण, लगानी लगायतमा छुट्याइएको छ भने एयरलाइन्स उद्योगका लागि ३२ बिलियन छुट्याइएको छ । त्यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरु पनि संघीय सहायता प्राप्त गर्नका लागि योग्य हुनेछन् । विद्यार्थीहरुको ऋण सेप्टेम्बर ३० सम्मका लागि कुनै जरिवाना स्थगित गरिनेछ ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए । यसपटक पनि सोही विधि अपनाउन खोजिएको छ ।

विगतमा उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो । रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com