कोरोना भाइरसको पहिलो बिरामी को थिए ?


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

विश्वको ५ लाखभन्दा बढी जनसंख्या कोरोना भाइरसबाट संक्रमित छ । २४ हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाए । अर्बौं जनता अहिले संक्रमण फैलनसक्ने त्रासमा घरभित्रै ‘आइशोलेसन’ मा बसिरहेका छन् । वैज्ञानिकहरु कोरोनाबाट बच्ने भ्याक्सिन निर्माणमा दिनरात जुटिरहेका छन् ।

पहिलोपटक कोरोनाको संक्रमण कसमा देखिएको थियो र कहिले देखिएको थियो ? यो जिज्ञासाको उत्तर पनि कम्ता खोजिएको छैन । चीनको ऊहानमा देखिएको थियो भन्ने धेरैलाई थाहा छ । तर यसबाट संक्रमित हुने पहिलो को ? स्पष्ट जवाफ छैन ।

भर्खरै मात्र चिनियाँ सञ्चारमाध्यम ‘द पेपर’सँगको कुराकानीमा ऊहानमा स्रिम्प (समून्द्री प्रजाती) बेच्ने एक महिलाले ११ डिसेम्बरमै आफू बिरामी परेको बताएकी छिन्  । उनको नाम ‘वि’ हो र उनी ऊहानस्थित खाद्य बजारबाट ५ सय मिटर पर भाडाको फ्ल्याटमा बस्छिन् ।

सुरुमा उनले यसलाई सिजनल फ्लु सोचेकी थिइन्, उनी एउटा सानो र भीडयुक्त क्लिनिकमा जचाउन पनि गएकी थिइन् । उनलाई त्यहाँ इन्जेक्सन दिइएको थियो, तर ज्वरो ठीक भएन ।

द पेपरले विको पूर्ण पहिचान सार्वजनिक गरेको छैन । तर अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलका अनुसार उनी ५७ वर्षकी भइन् र उनको पूरा नाम वि गायसियन हो ।

‘वि’ ठीक भइसकेकी छिन्, उनी आफ्नो प्रारम्भीक  लक्षणबारे भन्छिन्, ‘म थकित महसुस गरिरहेको थिएँ, तर विगत वर्षहरुजस्तो थकित होइन । हरेक जाडोमा म फ्लुबाट पीडित हुन्छु, त्यसैले मैले सोचे यो फ्लु नै हो ।’

जनवरीमा चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हुनान सीफुड होलसेल बजारमा बेच्न राखिएको पशुपन्छीको मासुबाट मानिसमा कोरोना भाइरस सरेको जनाएको थियो । वि त्यही बजारमा  स्रिम्प बेच्थिंन् ।

व्यापारीहरुका अनुसार बिरामी भएका बेला उनी उनले यही बजारमा सीफूड बेच्ने काम निरन्तर गरिरहेकी थिइन् । उनी ज्वरोले च्याप्दै गएपछि मात्रै ऊहानको ठूलो अस्पताल ‘द इलेभेन्थ’ मा पुगेकी थिइन् । ‘यस अस्पतालका चिकित्सकले पनि मलाई के भयो भन्ने थाहा पाएनन् र उनले केही पिल्स दिए,’ उनले भनिन् ।’

उनले औषधी त सेवन गरिन्, तर ठीक हुन सकिनन् । त्यसपछि नजिकैको सानो क्लिनिकमा फेरि गइन् र धेरै इन्जेक्सन मागिन् ।

जब उनले थप इजेक्सन लगाइन् त्यसपछि थप खराब र बेचैन महसुस गर्न थालिन् । शरीरको ताकत घट्दै गयो ।

अन्ततः डिसेम्बर १६ मा उनी देशकै सबैभन्दा ठूलोमध्येको एक उहान युनियन अस्पताल पुगिन् ।

त्यहाँ डाक्टरले उनको ज्वरो कडा रहेको र यस्तै लक्षण बोकेर हुनानबाट धेरै व्यक्ति उपचारका लागि आएको जानकारी दिए । ‘त्यहाँ (अस्पताल) धेरै मानिस थिए,’ उनले भनिन् ।

ऊहान स्वास्थ नियोगले ३१ डिसेम्बरमा जारी गरेको विज्ञप्तीमा उल्लेख भएअनुसार कोभिड–१९ को संक्रमण भेटिएका प्रारम्भीक २७ बिरामीमध्ये वि एक हुन् । अधिकारीहरुका अनुसार यतिबेलासम्म मानिसबाट मानिसमा यो भाइरस सर्छ भन्ने पुष्टि भइसकेको थिएन । यी बिरामीमध्ये २४ जनाको हुनानसँग सिधा सम्पर्क छ । तर, पहिलो बिरामी अर्थात् ‘पेसेन्ट जिरो’ को हुन् भन्ने विषय चीनमा अझै रहस्यमै छ ।

हुनान बजारमा सामान बेच्नेमध्ये कोरोनाको संक्रमण पुष्टि भएकी वि पहिलो व्यक्ति हुन्, तर कोरोना भाइरसको पहिलो बिरामी ७० वर्षमाथिका अवकाशप्राप्त वृद्ध रहेको चिनियाँ चिकित्सक बताउँछन् । चिकित्सकले बीबीसीसँग बताएअनुसार ती वृद्धमा १ डिसेम्बरमै लक्षण देखिएको थियो र त्यसअघि उनी हुनान सीफूड बजारमा गएका पनि थिएनन् ।

कोभीड–१९ बाट प्रताडित हुने पहिलो व्यक्तिको नाम खोज्न, १७ नोभेम्बरमा फर्कनुपर्छ । जुन, चिनियाँ अधिकारीहरुले नयाँ भाइरस पहिचान भएको घोषणा गर्नुभन्दा ७ हप्ताअघिको कुरा हो । अप्रकाशित डाटाअनुसार चिनियाँ अधिकारीहरुले कम्तिमा त्यस्ता २ सय ६६ व्यक्तिको पहिचान ३१ डिसेम्बरअघि नै गरेका थिए । ३१ डिसेम्बर त्यही दिन हो, जब ऊहानका अधिकारीले नयाँ भाइरसका संक्रमित भेटिएको स्वीकारे । तर, सार्सजस्तै प्रकृतिको नयाँ रोगबारे जनतालाई सचेत गराउन खोज्ने डाक्टरको समूहलाई कारबाही गरे ।
कोरोना उद्गमथलो ऊहान हो भन्ने आम बुझाइलाई अहिले बेइजिङले अस्वीकार गर्न थालेको छ किनकी यो विश्वव्यापी महामारी चीनमा नियन्त्रित र युरोपमा फैलदो अवस्थामा छ ।

स्वास्थ्य समस्यासँग जुध्नका लागि चीनले नियुक्त गरेको विज्ञ समूहका नेता डाक्टर झोङ नान्सानले गत साता यो भाइरस उहानबाट सुरु भएको अस्विकार गरेका थिए, उनले यस्ता टिप्पणीलाई ‘गैरजिम्मेवार’ समेत भने । ‘नोबेल कोरोना भाइरस चीनमा देखियो, पक्कै पनि ऊहानमा । तर यसको अर्थ यसको स्रोत उहान हो भन्ने होइन,’ पत्रकार सम्मेलनमा झोङले भने ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोनाभाइरसलाई ‘ऊहान भाइरस’ भन्ने गरेकाले चीनले यसमा कडा आपत्ति जनाउँदै आएको छ, विदेश मन्त्रालयका प्रवक्ता गेन्ग सुआङले बिहीबार चीनलाई निरुत्साहित गर्ने र रोकथामका लागि चीनले गरेका प्रयासबाट मानिसको ध्यान मोड्ने गरी यस्ता टिप्पणी आइरहेको बताए । ‘उनी पापबाट प्रेरित छन्,’ पोम्पेओबारे उनले भने ।
चीनमाथि सुरुवाती समय सूचना लुकाएको आरोप लाग्दै आएको छ, केही चिनियाँ कुटनीतिज्ञहरुले अमेरिकी सेनाले चीनमा भाइरस भित्र्याएको आरोपसमेत लगाइरहेका छन् ।

यस भाइरसलाई ‘ऊहान भाइरस’ भन्नुपर्ने पोम्पेओको तर्कमा इटली, फ्रान्स, जर्मनीलगायत अन्य ६ जी–७ राष्ट्र सहमत हुन नसक्दा बिहीबार संयुक्त विज्ञप्ती निस्कन पाएन । विश्व स्वास्थ्य संगठन र अन्य संघसंस्थाले पनि भाइरस विश्वव्यापी फैलने भएकाले यसलाई कुनै भूगोलका आधारमा नामाकरण गर्न नहुने जनाएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘चाइन भाइरस’ भन्थे । आलोचकहरुले एशिया र एशियाली मुलका व्यक्तिमाथि विभेद गरेको आरोप लगाउन थालेपछि उनी लचिलो बनेका छन् । उनले अमेरिकाको चिनियाँ समुदायलाई आपत्ति भएमा आफुले यस्तो नबोल्ने बताएका छन्  । ‘कुनै समुदायलाई अप्ठेरो पर्छ भने म यस्तो भन्ने छैन,’ उनले भने, ‘तर भाइसरलाई कुनै ठाउँको नाम दिँदैमा त्यस ठाउँको बद्नाम हुन्छ भन्ने होइन ।’

स्रोत : डेली मेल

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com