आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई अमेरिकाले आतंकबादको मुद्दा चलाउने


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

आशयपूर्ण तरिकाले कोरोना संक्रमण फैलाउनेलाई आतंकबादको मुद्दा चलाउन सकिने अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । कार्यवाहक महान्यायाधिवक्ता जेफ्री रोसेनले संघीय कानुन कार्यान्वयन इकाइहरुलाई पठाएको एउटा मेमोमा जानाजान कोरोना संक्रमण फैलाउने कार्यलाई आंतकबाद सम्बन्धित कार्यको रुपमा हेरिने उल्लेख गरेका छन् ।

अमेरिकनबिरुद्ध धम्की र कोभिड १९ लाई अमेरिकनबिरुद्धको हतियारको रुपमा प्रयोग गर्न खोज्ने कार्य सह्य नहुने उनले बताएका छन् । मेमोले संघीय सरकारले लिन चाहेको आक्रमक कदममा जोड दिएको छ । उनले भनेका छन् अमेरिकाकीहरुको संरक्षणका लागि हामीले सकेजति राम्रो गर्नुपर्छ ।

त्यस्तै कार्यवाहक महान्यायाधिवक्ताले कोरोना भाइरसको नाममा विभिन्न ठगीहरु भइरहेको समेत स्पष्ट पारेका छन् । डेलिभरी गर्ने कुनै आशय विना नै मास्कहरु उपलब्ध गराउने भन्दै फोनकल गर्ने र रकम लिएपछि मास्कहरु डेलिभरी नगर्ने ठगहरुको बिगबिगी बढेको उनले बताएका छन् ।

त्यस्तै कोरोना भाइरसबारेका नक्कली वेवसाइट र एप्लीकेशनहरु समेत रहेको उनले बताएका छन् । गत साता महान्यायाधिवक्ता विलियम बारले संघीय अभियोजनकर्ताहरुलाई कोरोनाको महामारीका बेलामा हुने ठगीको अनुसन्धानका लागि प्राथमिकता दिन निर्देशन दिए लगत्तै यो नयाँ मेमो आएको हो ।

अमेरिकामा बिहिबार विहानसम्म कोरोना संक्रमितको संख्या ६८ हजार नाघिसकेको छ भने मृतकको संख्या पनि एकहजार नाघेको छ । न्युयोर्कमामात्र कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com