कोरोना : अमेरिकामा मर्नेको संख्या १ हजार नाघ्यो


प्रकाशित मिति : चैत्र १३, २०७६ बिहीबार

संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ ।

सिनेटमा रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीले सहमति जनाउनु अघि उक्त राहत प्याकेजको सही कार्यान्वयनका सन्दर्भमा निकै लामो बहस भएको थियो । अमेरिकी इतिहासमै यो सर्वाधिक ठूलो आर्थिक सहायता विधेयक हो ।

अमेरिकी जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण विश्वभर मृतकको संख्या २१ हजार नाघिसकेको छ भने झण्डै ७० हजार व्यक्ति संक्रमित छन् । कोरोनाको प्रसार रोक्ने उद्देश्यले विश्वका अधिकांश मुलुकले अपनाएझैं अमेरिकाका धेरैजसो राज्य एवं शहरले मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरेका छन् । अमेरिकामा अहिले ठूलो जनसंख्या रहेको न्यूयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३०० को हाराहारीमा मानिसको मृत्यु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरु अहिले मानिसको उपचारका लागि शैयाहरु र स्वास्थ्य उपकरणको खोजीमा जुटेका छन् । उनीहरुले केही साताभित्रै बिरामी मानिसको संख्या अरु बढ्ने सम्भावना देखिएको जनाउँदै थप चिकित्सक र नर्सका लागि आह्वान गरिरहेका छन् ।

न्यूयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्यूयोर्कका स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । बिलिभ हस्पिटल बाहिर मृत व्यक्तिलाई राख्न अस्थायी शिविर नै बनाइएको छ भने नगर प्रहरीलाई न्यूयोर्कका सडकमा देखिने मानिसहरुलाई निश्चित दूरी बनाएर मात्र हिँड्ने प्रबन्ध मिलाउन आदेश दिइएको छ ।

वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गरेका छन् । उनले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुराँ र रात्रिक्लब बन्द गर्न अनुरोध पनि गरेका छन् ।

तैपनि, राष्ट्रपति ट्रम्पले मानिसहरुलाई ‘हाम्रो मुलुक बन्द गर्नका लागि निर्माण भएको होइन’ भन्दै अमेरिकी नागरिकलाई आडभरोसा दिने प्रयत्न गरेका छन् ।
बुधबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही संचारमाध्यममाथि पुरानै शैलीमा भनेका छन्, ‘मलाई आगामी चुनावमा विजयी हुन नदिन केही मिडियाले कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुनै हौवा देखाइरहेका छन् ।’

डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको स्वास्थ्य र सुरक्षाको साटो अर्थव्यवस्थालाई बढी प्राथमिकतामा राखेको बताएको छ । ‘म भन्न चाहन्छु, अर्को शुक्रबारदेखि नै काममा फर्कौं,’ पूर्व उपराष्ट्रपति जो बाइडेनले भने ।

बाइडेनले सिनेटले अनुमोदन गरेको आर्थिक प्याकेजको राम्रो कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘राहत प्याकेजको रकम जरुरतमा परेका सबै मानिससम्म जतिसक्दो चाँडो पुग्नु पर्दछ ।–एपी/एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com