कोरोना मानवजातिकै लागि खतरा हाे,यसमाथि राजनीतिभन्दा एकजुट हुनुपर्छ : राष्ट्रसंघ


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी सम्पूर्ण मानवताका लागि खतरा रहेको बताएका छन् । उनले त्यसविरुद्ध सम्पूर्ण मतभेदहरु बिर्सेर सबै राष्ट्र लागिपर्नुपर्ने पनि बताएका छन् ।

महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए । उनले कोरोना भाइरस मानवताविरुद्ध रहेकाले यसमाथि राजनीति गर्न नहुने समेत बताए ।

मूलतः पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको देखिन्छ । राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद छन् । सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको बिबिसीले जनाएको छ ।

वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताए पनि अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरेका छन् ।

यससँगै आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले २ अर्ब डलर कोषको घोषणा गरेको छ । विकासोन्मुख र गरिब देशहरुमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउने अवस्था आउन सक्ने संघको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com