अनुहारभरि मास्कका डामैडाम, इटालीका डाक्टरहरू


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

निरन्तरको खटाइका कारण आँखा राता भएका छन् । अनुहारभरि मास्कका डामैडाम देखिन्छन् । सबै थकित देखिन्छन्, तैपनि उनीहरू निरन्तर आफ्नो काममा खटिएका छन् ।

आफूले उपचार गरेका केही बिरामीको आफ्नै आँखाअगाडि ज्यान गइसकेको छ । केही सहकर्मी पनि संक्रमणको सिकार भइसकेका छन् । तैपनि उनीहरूको कामप्रतिको लगन उस्तै छ र प्रतिबद्धता कत्ति पनि डगमगाएको छैन ।

चीनको वुहान इपिसेन्टर रहेको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर फैलिसकेको छ । त्यसमा पनि अहिले इटाली सबैभन्दा बढी आक्रान्त छ । यो समाचार तयार पार्दासम्म इटालीमा करिब साढे पाँच हजार व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । इटालीका सबैजसो अस्पताल कोरोना संक्रमित बिरामीले भरिएका छन् ।

सिंगो देश क्वारेन्टाइनमा छ । सबै कुरा ठप्प भएको छ । यति गर्दा पनि इटालीमा अवस्था नियन्त्रणमा आउन सकेको छैन । यही स्थितिलाई मध्यनजर गरेर इटालीका डाक्टरहरू निरन्तर खटिएका छन् । उनीहरूलाई अहिले थाहा छैन भोक के हो ? प्यास अनि निद्रा के हो ।

इटालीका एनेस्थेसिया विशेषज्ञ डाक्टर मार्को पाभेसीले १८ मार्चमा न्युयोर्क टाइम्समा लेखेका थिए, ‘म इटालीमा डाक्टर छु । हामीले यस्तो यसअगाडि कहिल्यै देखेका थिएनौँ ।’ मानवीय क्षति कम गर्दै देशमा आशाको सञ्चार स्थापित गर्न डाक्टरहरूले कुनै कसर बाँकी राखेका छैनन् ।
– एजेन्सीकाे सहयाेगमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com