बलात्कारीलाई झुन्ड्याउने जल्लाद भन्छन्, इन्दिरा गान्धीका हत्यारालाई मेरै बा र हजुरबाले झुन्ड्याए


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

२०१२ को दिल्ली ‘निर्भया बलात्कार’ घटनामा संलग्न भएको अभियोगमा चार जनालाई शुक्रबार बिहान ५ बजे फाँसी दिइएको छ ।

यी चारैजनाको गलामा दिल्लीस्थित तिहाड जेलमा अन्तिमपटक फाँसीको पासो लगाउने र उनीहरुलाई सुलीमा चढाउने काम पवन जल्लादले गरे ।

उत्तर प्रदेश, मेरुका बासिन्दा पवन जल्लादको यो पुर्खौली पेसा हो । १९८९ मा इन्दिरा गान्धीका हत्याराको गलामा पासो बाँध्ने काम उनका हजुरबा लक्ष्मण जल्लाद र बाबु कुल्लु जल्लादले गरेका थिए । बाबु–बाजेको बिँडो अहिले पवनले सम्हाले । पवनका अनुसार उनी श्रीमती वा घरपरिवारका सदस्यले कहिल्यै यो काम नगर्न भनेका छैनन् ।

२–४ दिन पहिले थाहा हुन्छ
पवनका अनुसार उनलाई २–४ दिने पहिले जेल प्रशासनले फाँसीका विषयमा जानकारी दिन्छ । हेडक्वार्टरबाट जेल प्रशासनमा चिठी आएपछि उनलाई यसबारे जानकारी दिन्छ । फाँसी दिने समय पहिल्यै तोकिएको हुन्छ । ‘सबै पहिल्यै तय भइसकेको हुन्छ । हामीले आदेश पालना गर्ने हो । आफ्नो काम गर्ने हो ,’ उनले भने ।

अपराध एउटाले गर्छ, पीडित अर्को हुन्छ । गलामा पासो लगाएर न्याय दिनुपर्ने जिम्मेवारी तपाईँको हातमा आउँदा अर्कैका लागि मैले न्याय दिनुपर्ने जस्तो लाग्दैन ? यस प्रश्नको जवाफमा पवन भन्छन्, ‘म किन बदला वा न्याय दिने, यो काम त जनता हो । म मेरो काम गर्छु । मैले सरकारी पदमा बसेर सरकारको निर्णयमात्रै कार्यान्वयन गर्ने हो ।’

जघन्य अपराध र दुष्कर्म गर्नेलाई फाँसी दिइनुपर्ने उनको भनाइ छ । ‘युवतीहरुसँग घिनलाग्दो हर्कत, र बलात्कार गरिरहेका हुन्छन् भने यस्ता मानिसलाई त फाँसी हुनुपर्छ,’ उनी भन्छन् ।

फाँसीको दिन के हुन्छ ?

निर्भया काण्डका बलात्कारीलाई फाँसीको दिने दिन पवन बिहानै ३ बजे उठे । त्यसपछि डोरी बाँध्ने, हेर्ने सबै तयारी गरे । तयारी सकिएपछि मात्रै कैदीलाई जेल प्रशासनले ल्यायो । अनि तोकिएको समय अर्थात ५ बजे फाँसी दिइयो ।

‘ उनीहरुको अनुहार नभर्स हुन्छ, सिरियस हुन्छ । उसलाई थाहा हुन्छ कि मेरो अगाडि मृत्यु खडा छ । तर ऊ सजाय स्वीकार्न बाध्य हुन्छ,’ उनले भने,‘सायद उसले सोच्न सक्छ, मैले निकै घिनलाग्दो काम गरें, बलात्कार गरें, निर्भया हत्याकाण्ड गरें । मैले यस्तो गर्न हुँदैन थियो ।’

फाँसी दिएको रात ती अपराधीको अनुहार त दिमागमा आएन ? जवाफमा जल्लाद भन्छन्, ‘मैले मेरो काम गरेको हो । उनीहरु जिन्दगी छिनेको होइन । फाँसी दिइएका मानिसको अनुहार त्यसरी दिमागमा आएन ।’
आफ्नो तलब र सेवासुविधा कम भएको उनको गुनासो छ । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँगको अन्तरवार्तामा उनले भनेका छन्,‘ ५ हजार भारु तलब छ । यतिले कसरी गुजारा चल्छ । ५ छोरी र २ छोरा छन् ।

मैले २० हजार तलब पु-याइदिनुस् भनेर धेरैपटक आग्रह गरिसकें ।’ चारजनालाई फाँसीमा झुन्ड्याएबापत यी जल्लादलाई अतिरिक्त रकम प्रति व्यक्ति बराबर २० हजार अर्थात् चार जनाको कुल ८० हजार भारु उपलब्ध गराइने तिहाड जेल प्रशासनले जानकारी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com