विदेशमा अड्केका अमेरिकनलाई ल्याउन अमेरिकी विदेशमन्त्रालयको विशेष टास्कफोर्स


प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार

विदेशमा अड्केका अमेरिकनलाई ल्याउन अमेरिकी विदेशमन्त्रालयले विशेष टास्कफोर्स बनाएको छ । कोरोनाको महामारीका कारण हजारौं अमेरिकनहरु विदेशमा अड्केपछि उनीहरुलाई अमेरिका ल्याउन टास्कफोर्स बनाइएको हो ।

विहिबार यस्तो टास्कफोर्सको निर्माण गरिएको आज ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री माइक पम्पिओले जानकारी दिए । विदेशमा रहेका कति अमेरिकनहरु स्वदेश फर्कन चाहेका छन् भन्नेबारे अमेरिकी सरकारसँग पूर्ण तथ्यांक भने उपलब्ध छैन ।

अमेरिकी विदेशमन्त्रीले प्रभावित अमेरिकनलाई अनलाइन फर्म भरेर जानकारी दिन आग्रह गरेका छन् । पेरुमा मात्र २ हजार अमेरिकान अड्केको जनाइएको छ । त्यहाँ रहेकाहरुलाई अमेरिका ल्याउन सेनाको प्रयोग गरिने अमेरिकी राष्ट्रपतिले बताएका छन् ।

अनलाइनमार्फत जानकारी दिन यहाँ क्लिक गर्नुहोला ।

विदेशको यात्रा नगर्न चेतावनी

अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना सबै नागरिकलाई यथाशीघ्र अमेरिका फर्कन आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्रालयले विहिबार विशेष सुचना जारी गर्दै अमेरिकाबाहिर रहेका सबै अमेरिकीहरुलाई स्वदेश फर्कन आव्हान गरेको हो ।

अमेरिकी सरकारले अमेरिकामा रहेका अमेरिकन नागरिकहरुलाई देशबाहिर नजान चेतावनी दिएको छ । विदेशमा रहेकाहरु यदि अमेरिका फर्कन नसकेको खण्डमा आफू रहेको स्थानमा नै रहन र अन्तर्राष्ट्रिय सिमाहरु पार नगर्न सुझाव दिएको छ ।

अमेरिकाले विदेशका लागि लेभल फोर ट्राभल एड्भाइजरी जारी गरेको छ । ठूलो संख्यामा अमेरिकनहरु विदेशमा अन्यौलमा रहेका छन् ।

ट्राभल एड्भाइजरीमा भनिएको छ – ‘जहाबाट प्रस्थान विकल्पहरू उपलब्ध छन्, उनीहरूले अनन्त कालसम्म विदेशमा बस्न तयार नभएसम्म अमेरिकामा तुरुन्त फर्कने व्यवस्था गर्नुपर्दछ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com