अमेरिकामा जनही १२ सय डलर दिने बिलको पूर्ण पाठ, कस्ले पाउनेछन् रकम ?


प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार

कारोना भाइरसका कारण उत्पन्न आर्थिक समस्यासँग जुध्न अमेरिकामा जनही १२ सय डलर दिने प्रस्तावसहित १ ट्रिलियन डलरको बिल सिनेटमा पेश गरिएपछि यसबारे चर्चा परिचर्चा सुरु भएको छ । खासगरी यो रकम कुन इमिग्रेशन स्टाटस भएकाले पाउलान् भन्ने जिज्ञासा देखिएको छ । सिनेटका बहुमतप्राप्त दलका नेता मिच म्याक्कोनेलले कोरोना भाइरसको संक्रमणबिरुद्ध लड्न उक्त आर्थिक प्रस्ताव पेश गरेका हुन् ।

उक्त बिलमा निश्चित भन्दा कम आम्दानी भएकाहरुलाई जनही १२ सय अमेरिकी डलर दिने प्रस्ताव समेटिएको छ । यो रकम अमेरिकाका करदाताहरुले प्राप्त गर्ने भनिएको छ । बिलमा कुनै अध्यागमन स्टाटसको बारेमा उल्लेख गरिएको छैन । यसर्थ यो रकम अमेरिकामा कर फाइल गर्ने जुनसुकै स्टाटसको व्यक्तिले प्राप्त गर्ने देखिएको छ ।

बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् ।

बिलको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ । ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्नेछन् जु अनुशार कसैको ८० हजार आम्दानी छ भने उसले ९५० प्राप्त गर्नेछ भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्नेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउँदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

परिवारका अन्य सदस्यको सन्दर्भमा हरेक बच्चाका लागि ५ सय डलर दिइनेछ । अर्थात् १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिका २ बच्चा छन् भने यो परिवारले कुल ३४ सय डलर प्राप्त गर्नेछ ।

कम करको उत्तरदायीत्व भएका वा नभएकाहरु तर सामाजिक सुरक्षा निवृत्तिभरण आम्दानी, भेट्रानलाई दिइने पेन्सन वा क्षतिपूर्ति वापत कम्तीमा २५ सय योग्य आम्दानी भएकाहरुले एकजनाले ६ सय र जोडीले १२ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।

यदि तपाई अमेरिकाको करदाता हुनुहुन्न भने तपाईले यो रकम प्राप्त गर्न सक्नुहुनेछैन ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए । यसपटक पनि सोही विधि अपनाउन खोजिएको छ ।

विगतमा उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो । रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com