अमेरिकामा सरकारले दिने भनेको एकहजार डलरको चेक कस्ले पाउँछ ? कस्ले पाउँदैन ?


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

कोरोना भाइरसका कारण अमेरिकी जनतालाई टाट पल्टिनबाट जोगाउन र आर्थिक मन्दीबाट पार लगाउन सरकारले एकहजार डलर वा त्यो भन्दा बढीको चेक पठाउने सम्भावना रहेको छ । युटाहका रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकनलाई १ हजार डलर दिने प्रस्ताव ल्याएपछि यो विषयले चर्चा पाएको हो ।

मंगलबारसम्म यो योजनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित रिपब्लिकन र डेमोक्र्याट दुबै सहमत भएका छन् । ह्वाइट हाउसले यो रकम १ हजार डलरभन्दा पनि बढी हुनसक्ने बताएको छ ।

अमेरिकाका अर्थमन्त्री स्टेभन मन्चिनले आफूहरुले हरेक अमेरिकनलाई तत्कालै चेक पठाउन खोजिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी दुईसाताभित्रै त्यस्तो चेक पठाउन चाहेको उनले बताएका छन् ।

अमेरिकामा यसरी चेक पठाउने गरिएको यो नै पहिलोपटक भने होइन । सन् २००८ को आर्थिक मन्दीका बेलामा अमेरिकी सरकारले हरेक बयस्कलाई ३ सय देखि ६ सय डलरसम्मको चेक पठाएको थियो । बालबालिकालाई ३ सय डलरको चेक पठाइएको थियो । त्यस्तै सन् २००१ मा पनि अधिकांश अमेरिकनहरुले ३ सय डलरको चेक प्राप्त गरेका थिए ।

गत आर्थिक मन्दीको बेलामा अमेरिकामा ट्याक्स फाइल गरेका र मिलेनियरबाहेकका प्राय सबैलाई त्यतो चेक पठाइएको थियो । सोसल सेक्युरिटी भत्ता पाइरहेकाहरुले समेत त्यस्तो चेक प्राप्त गरेका थिए ।

बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने अधिकांशले उक्त रकम प्राप्त गरेका थिए । उक्त रकम हुलाकबाट वा बैंक एकाउन्टमा सिधै पठाइएको थियो ।

एकहजार डलरको चेकले अमेरिकीहरुलाई पूर्णरुपमा क्षतिपूर्ति नहुने भएपनि सामान किन्न र भाडा तिर्न केही मद्दत पुग्ने अपेक्षा गरिएको छ । यो सामान्यतया एक साताको आम्दानीका रुपमा लिइएको छ । अमेरिकामा एकसाताको मध्यम आम्दानी ९३६ डलर रहेको छ ।

ओहायोका डेमोक्रेटिक सांसद टिम रायन र क्यालिफोर्नियाका डेमोक्रेटिक सांसद रो खन्नाले ल्याएको प्रस्तावमा बार्षिक ६५ हजार भन्दा कम आम्दानी हुनेहरुलाई एकहजार डलर दिनुपर्ने र त्यसका लागि ७५ प्रतिशत अमेरिकी योग्य हुने बताइएको छ ।

त्यस्तै सिनेटरहरु कोरी बुकर, माइक बेनेट, शेरोड ब्राउनले ल्याएको प्रस्तावमा २ हजार डलर दिनुपर्ने उल्लेख छ । हरेक बयस्क अमेरिकनलाई २ हजार डलर र बच्चाहरुलाई समरमा १५ सय र फलमा १ हजारको चेक पठाउने प्रस्तावमा उल्लेख छ ।

उक्त रकम २ सातामा पठाउने ह्वाइट हाउसको प्रस्ताव रहेपनि त्योभन्दा लामो समय लाग्नसक्ने जनाइएको छ । सन् २००८ मा रकम पठाउन झण्डै २ महिनाको समय लागेको थियो ।

आइआरएससँग धेरैजनाको डाइरेक्ट डिपोजिट विवरण भएकाले त्यही एकाउन्टमार्फत पठाउन सकिने जनाइएको छ । गतबर्षको ट्याक्स फाइलमा झण्डै ९० प्रतिशतले डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्टहरु दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com