अमेरिकी पत्रकारलाई देश छोड्न चीनको निर्देशन


प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार

चीनले तीन अमेरिकी सञ्चार संस्थाका पत्रकारलाई निष्कासन गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकी सञ्चारमाध्याम न्युयोर्क टाइम्स, वासिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलका पत्रकारको प्रेस प्रमाणपत्र रद्द गर्ने बताएको हो र ती पत्रकारलाई तुरुन्तै देश छोड्न पनि निर्देशन दिएको छ ।

तर कति पत्रकार निष्कासनमा परेका हुन् भन्ने स्पष्ट भएको छैन । निष्कासनमा परेका पत्रकारले हङकङ, मकाउमा बसेर पनि रिपोर्टिङ गर्न पाउने छैनन् । ती पत्रकारले १० दिनभित्र चीनले दिएको प्रेस मान्यता फिर्ता गरिसक्नुपर्छ । चीनले पछिल्ला वर्षमा १२ महिनाका लागि विदेशी पत्रकारलाई भिसा दिँदै आएको छ ।

तीनै अमेरिकी मिडिया आउटलेटले चीनको राजनीतिक रूपमा संवेदनशील विषयहररू लेखेको बताइएको छ । न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नले सिन्जियाङको शिविरमा राखिएका १ लाख मुस्लिमबारे लेखेको थियो । अमेरिकी मिडियाले यसलाई मानवअधिकारको उल्लंघन भएको भनेर लेखेको थियो, तर बेइजिङले उक्त शिविर अतिवादविरुद्ध लड्न डिजाइन गरिएको बताउँदै आएको छ ।

बेइजिङले पाँचवटा विदेशी मिडिया भ्वाइस अफ अमेरिका, द टाइम्स, द जर्नल, द पोस्ट र टाइम म्यागाजिनलाई विदेशी सरकारका कार्यकर्ता भएको र वासिंगटनबाट नियन्त्रित एजेन्सीको रूपमा घोषणा गरेको छ ।

चीनले गरेको यो निर्णय गत महिना अमेरिकी प्रशासनले ‘विदेशी मिसन’ भन्दै चिनियाँ पत्रकारमाथि लगाएको प्रतिबन्धको जवाफस्वरूप रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com