धारामा पानी, हट्यो अभाव खानेपानी (भिडियो)


प्रकाशित मिति : चैत्र १३, २०७३ आईतबार

सिन्धुली । पानी बिना जीवन कल्पना गर्न सकिँदैन । जीवनका लागि पानी महत्वपूर्ण छ । खाना नखाई केही समय बाँच्न सक्छ तर पानी बिना सजिव प्राणीको जीवन बाँच्न सक्दैन । सरकारले पानी सबैका लागि भन्ने नीति अघि सारेको छ । तर, अहिलेसम्म सबै जनताले सहज रुपमा पानी पिउन पाएका छैनन् । तर केही संस्थाको पहलमा सिन्धुलीका केही स्थानमा भने खानेपानी सहज बनेको छ ।

सिन्धुलीको गोलाञ्जोर गाउँपालिकाको वडा नम्बर ६ घोक्सीलामा पानीको धारा बनेपछि स्थानीय बासिन्दा दंग छन् । पानीका लागि एक घण्टा ओरालो सुनकोसी झर्नुपर्ने, कि त जंगल पुग्नुपर्ने समस्या टरेको छ । घोक्सीलाका स्थानीय बासिन्दा घरको छेउँमै खानेपानीको जोहो भएपछि खुशी मात्र होइन, पानीका लागि भोग्नुपरेको दुःख समेत भुल्दैछन् । मानिसका लागि मात्र नभएर गाईवस्तुका लागि पनि पानी खुवाउन सजिलो भएको छ । करेसाबासीमा सागसब्जीमा पानी हाल्न पनि सजिलो भएको स्थानीय बासिन्दा बताउँछन् ।

कारितास इन्टरनेशनलको आर्थिक सहयोग तथा कारितास नेपाल र रिलिफ नेपालको साझेदारीमा घोक्सीलाका ११६ घरका लागि खानेपानीको व्यवस्था भएको हो । भूकम्प अघिसम्म गाउँको नजिकै खोल्साबाट खानेपानी ल्याएको थियो । तर भूकम्पपछि मुहान सुक्यो । छिमेकी रतनचुरा नजिकै रहेको पानी मुहानबाट अहिले खानेपानी ल्याइएको छ । साढे सात किलोमिटर टाढा रहेको मुहानबाट पानी ल्याएपछि अहिले खानेपानीको समस्या टरेको हो । छुट्टै ट्यांकी निर्माण गरी पानी जम्मा गर्ने र बिहान बेलुका पानी दिने व्यवस्था मिलाएको छ । यसरी निर्माण भएको घोक्सीला खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ ।

त्यसो त गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ कै सुंगुरे र छिरा गाउँमा पनि खानेपानी आयोजना सम्पन्न भएका छन् । सुंगुरे र छिराका ७९ घरका लागि पनि खानेपानी समस्या टरेको छ । यो खानेपानी आयोजना पनि कारितास र रिलिफ नेपालको साझेदारीमा स्थानीय उपभोक्ता समितिले बनाएको हो । खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा गोलाञ्जोर गाउँपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत रोहित कार्कीले खुशी व्यक्त गरे ।

खानेपानी आयोजना हस्तान्तरण गर्न सिन्धुली आएका कारितास इन्टरनेशनलका निर्देशक केपी बोगटीले खानेपानी आयोजनाले स्थानीय बासिन्दाको जीवनयापनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले एक घर एक धाराको नीति लिएको बताउँदै खानेपानी डिभिजन कार्यालय सिन्धुलीका प्रमुख ध्रुवदेव कुमालले खानेपानीको रेखदेख स्थानीय उपभोक्ताहरु आफूले गर्नुपर्ने बताउनुभयो ।

खानेपानी आयोजना सम्पन्नपछि स्थानीय बासिन्दाले तत्कालका लागि सहज रुपमा पिउने पानी त पाएका छन् तर अझै पनि सरकारले ल्याएको नीति एक घर एक धारा कहिले कार्यान्वयन हुने हो ? कुर्नैपर्ने भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com