भारतले भोलीदेखि सीमानाका बन्द गर्ने


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।

भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ ।

भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित (बनबासा, सुनौली, रक्सौल र रानीगन्ज) नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ ।

शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ । कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ ।नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com