अमेरिकामा फ्लूबाट २० हजारको मृत्यु : सिडिसी


प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार

अमेरिकी स्वास्थ्य अधिकारीहरू यतिबेला कोरोना भाइरस प्रकोपलाई नियन्त्रण गर्न काम गरिरहेका छन् । तर, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सिडिसीले फ्लूबाट यो वर्ष २० हजार मानिसको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ।

हालसालै सिडिसीले सार्वजनिक गरेको फ्लूसम्बन्धी रिपोर्टमा चार वर्षभन्दा मुनिका बालबालिकामा बढी संक्रमण देखिएको छ। सिडिसीको तथ्यांकअनुसार डिसेम्बरदेखि फेबु्रअरीसम्म मात्रै ३४ मिलियन मानिसहरू फ्लूबाट संक्रमित भएका छन् । ३५ लाख मानिस अस्पताल भर्ना भए । फ्लूको संक्रमणबाट मात्रै २० हजारको मृत्यु भएको छ, जसमा १ सय ३६ बालबालिका रहेका छन्।

अमेरिकी अनलाइन सञ्चारमाध्यम  ‘द हिल’ले उल्लेख गरेअनुसार सन् २००९ को महामारीपछि यो वर्ष सबैभन्दा धेरै बच्चाहरूको मृत्यु भएको छ। सिडिसीले फ्लूको खोप धेरै प्रभावकारी रहेको पनि बताएको छ।

सिडिसीका अनुसार अमेरिकामा यो नयाँ भाइरस होइन्। यो भाइरस सन् १९९८ मा स्पेनिस फ्लूबाट सुरु भएको थियो। यसले सिजन र समयअनुसार आफ्नो स्वरुप परिवर्तन गर्दै आइरहेको छ ।

सन् २००९ मा एच १ एन १ भाइरसले अमेरिकामा महामारीको रुप लिएको थियो। सिडिसीले हरेक वर्ष अमेरिकामा फ्लूबाट १२ हजार मानिसको मृत्यु हुने अनुमान गरेको छ। सन् २०१७–०१८ को चिसो मौसममा फ्लूबाट हजारौं मानिसको मृत्यु भएको थियो भने ४ करोड ५० लाख मानिस संक्रमित भएका थिए।

यसपटक अमेरिका कोरोना भाइरसको नियन्त्रण तर्फ केन्द्रित भएको छ । अहिलेसम्म यसबाट १ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४१ जनाको ज्यान गइसकेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com