मेरिल्याण्डमा कोरोना संक्रमण पुष्टीपछि राज्य संकटकाल घोषणा


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

मेरिल्याण्ड राज्यको मोन्टगोमेरी काउन्टीमा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । तीनजनामा भाइरसको संक्रमण पुष्टी भएपछि मेरिल्याण्ड राज्यमा राज्य संकटकाल घोषणा गरिएको छ ।

गभर्नर ल्यारी होगनले राज्य संकटकालको घोषणा गर्दै सबैलाई सचेत हुन भनेका छन् । संक्रमितहरुमध्ये दुई जना ७० बर्ष कटेका एक जोडी रहेका छन् । एकजना भने ५० बर्ष कटेकी एक महिला रहेकी छिन् ।

उनीहरु अमेरिकाबाहिर यात्रा गरेर फर्केका थिए । उनीहरु फरबरी २० मा फर्केपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

अहिलेसम्म अमेरिकामा २२६ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

यसैबीच कोरोना संक्रमणको जोखिममा रहेका न्युयोर्क प्रहरीका ४ जना अफिसर सहित २७७३ जना आइसोलेसनमा रहेका छन् । स्वास्थ्यविभागले यी सबैको अनुगमन गरिरहेको जनाएको छ ।

चीन, इटली, इरान र जापानबाट फर्केका न्युयोर्क प्रहरीका अफिसरहरु त्यहाँबाट फर्केदेखि नै आइसोलेसनमा रहेका छन् । उनीहरु अमेरिका फर्केदेखि नै आफू कार्यरत प्रहरी चौकीमा गएका छैनन् ।

न्युयोर्कको स्वास्थ्य विभागले चीन, इरान, इटली, दक्षिण कोरिया र जापानबाट फर्केकाहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ । आज दिउसो न्युयोर्कका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरेर न्युयोर्क सिटीमा कोरोनाबिरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका हुन् ।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन सचेत गराएका छन् । हात धुन, खोक्दा वा हाछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा डाक्टरलाई सम्पर्क गर्न उनले सचेत गराएका छन् ।

उनले न्युयोर्कबासीलाई चिन्तित होइन, सजग रहन आग्रह गरेका छन् । आफूहरुले न्युयोर्कबासीलाई सुरक्षित राख्न हरतरहले प्रयास गरिरहेको उनको भनाई छ ।

अहिलेसम्म न्युयोर्कमा २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । अमेरिकाका राज्यहरुमा संक्रमितको संख्या सबैभन्दा धेरै वासिंटन राज्यमा रहेको छ ।

वासिंटन राज्यमा ७४ जनामा संक्रमण पुष्टी भएको छ भने ती मध्ये ११ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियामा ६३ जनामा संक्रमण भएको छ भने तीमध्ये एकजनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com