अमेरिकामा भयानक तुफान, २२ जनाको मृत्यु, १५६ अस्पतालमा


प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार

अमेरिकाको टेनेसीमा आएको भयानक तुफानबाट मृतकको संख्या २२ पुगेको छ । मध्ये टेनेसीबाट रातभर चलेको तुफानले टेनेसीका कैयन भागलाई तहसनहस पारेको छ ।

तुफानका कारण आज टेनेसीमा राष्ट्रपति उम्मेदवार छान्नका लागि हुने प्राइमरी चुनाव पनि प्रभावित भएको छ । कतिपय काउन्टीमा मतदान एकघण्टा ढिलो भएको थियो भने अलाबामाका विभिन्न स्थानमा चेतावनी जारी गरिएको छ ।

टेनेसीको पुटनाम काउन्टीमा १६, विल्सन काउन्टीमा ३, डेभिडसन काउन्टीमा २ र बेन्टन काउन्टीमा एकजनाको मृत्यु भएको हो । तुफानले बाटोमा र पार्क गरेर राखेका गाडीसमेत उल्टाएको थियो ।

तुफानका कारण घाइते भएका कम्तीमा १५६ जनालाई अस्पताल लगिएको छ । नासभिलमा कम्तीमा ४८ वटा भवनहरुमा क्षति पुगेको छ भने ३० जना नासभिल मेट्रोका कर्मचारीहरु पनि घाइते भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनेसीको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले यो प्राकृतिक विपत्तिबाट प्रभावितहरुका लागि प्राथना समेत गरेको जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com